३१ जेठ २०८३, आइतबार

विवादित 'आलोपालो' प्रकरणपछि नेकपाका नेताहरू छलफलमा जुटे

विवादित 'आलोपालो' प्रकरणपछि नेकपाका नेताहरू छलफलमा जुटे
file photo

काठमाडौँ - पछिल्लो समयमा पार्टीभित्र आलोपालोको विषयलाई लिएर विवाद देखिएपछि आइतवार दिउँसो प्रधानमन्त्री निवासमा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरू छलफलमा जुटेका छन् । गणतन्त्र दिवसका दिन पार्टीका एक अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्राइम टेलिभिजनका लागि पत्रकार ऋषि धमलालाई आलोपालो प्रधानमन्त्री बन्ने सहमति कार्यान्वयन हुनेमा आफू ढुक्क रहेको बताएका थिए ।

आलोपालो सरकारको नेतृत्व गर्ने सहमति नौलो नभएपनि प्रचण्डको उक्त अभिव्यक्तिलाई लिएर पार्टीभित्र विवाद सृजना भएको थियो । त्यसको भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालका लागि दिल्लीमा आयोजित सपथग्रहण समारोहमा भाग लिन गएका थिए ।

उनले दिल्लीबाटै सञ्चारकर्मीहरूलाई आफू विदेश भ्रमणमा रहेकै बेला नेपालमा यस्ता हल्लाहरू फैलिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रधानमन्त्री स्वदेश फर्केपछि पार्टीभित्र सरकारको नेतृत्व आलोपालो गर्ने सन्दर्भमा उठेको बहसका विषयमा आइतवार बालुवाटारमा छलफल भएको हो । लामो समयसम्म बस्न नसकेको सचिवालय बैठक सोमवार बस्ने गरी छलफल केन्द्रित भएको एक सचिवालय सदस्यले लोकान्तरलाई बताए । त्यससँगै विकसित भएका पछिल्ला घटनाक्रमका विषयमा नेताहरूबीच छलफल भएको उनको भनाइ थियो ।

छलफलमा अध्यक्षद्वयसहित वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल लगायतको उपस्थिति रहेको थियो ।  

salt training

कमेन्ट गर्नुहोस्