
काठमाडौं – श्रीलंकामा ईस्टर सन्डेका दिन भएको आक्रमणमा राष्ट्रपति मैत्रीपाला सिरिसेना जिम्मेवार रहेको बर्खास्तीमा परेका प्रहरी प्रमुखले बताएका छन् ।
राष्ट्रपतिले ईस्टर बम विस्फोटहरूलाई रोक्न नसकेको उनको आरोप छ । यस विषयमा सर्वोच्च अदालतमा मुद्दा समेत दर्ता गरिएको छ । आफ्नो बर्खास्तगी अनुचित रहेको पनि उनले बताएका छन् ।
भारतले दिएको गोप्य सूचनामा आवश्यक कारवाही नगरेको आरोपमा राष्ट्रपति सिरिसेनाले प्रहरी प्रमुख जयसुन्दरलाई बर्खास्त गरेका थिए ।
उक्त बम आक्रमणमा परी २५८ जनाको ज्यान गएको थियो ।
जयसुन्दरले जासूसी संस्था र सुरक्षाकर्मीहरूका बीच सञ्चारको अभाव हुँदा घटना हुन पुगेको निवेदनमा उल्लेख गरेका थिए ।
यी सबै एजेन्सीहरू राष्ट्रपति सिरिसेनाकै अन्तर्गत काम गर्छन् ।
अघिल्लो वर्षको अक्टोबर महिनामा राष्ट्रपति सिरिसेना र प्रधानमन्त्री रनिल विक्रमसिंघेबीच राजनीतिक खिचातानी शुरू भएपछि विक्रमसिंघेलाई राष्ट्रिय सुरक्षा परिषद्का बैठकहरूमा भाग लिन रोकिएको थियो ।
जयसुन्दरको निवेदनमा स्टेट इन्टेलिजेन्स सर्भिसेजका प्रमुख नीलान्त जयवर्धनेले भारतबाट प्राप्त सूचनालाई गम्भीरतापूर्वक नलिएको र कुनै कारवाही नगरेको उल्लेख छ ।
एजेन्सी