
काठमाडौं– गोरखा भूतपूर्व सैनिक संघ(गेसो)ले ‘संत्याग्रह संयुक्त संघर्ष समिति’को नेतृत्वमा चलिरहेको आन्दोलनप्रति असहमति जनाएको छ । गोरखाहरुको समस्या समधान कुटनीतिक पहल र शान्तिपूर्ण संघर्षबाटै गरिनुपर्ने भन्दै गेसोले भन्दै गेसोले सहयात्री संगठन जारी राखेको गतिबिधिप्रति आफ्नो समर्थन नरहेको जनाएको हो ।
सोमबार गेसोले काठमाडौंमा पत्रकार सम्मेलन गरेर सत्याग्रहले गरी जारी राखेको आन्दोलनले बाँकी सम्भावनाको ढोकाहरु समेत बन्द गर्ने खतरा रहेको जनाएको छ । पत्रकार सम्मेलनमा सभापति कृष्णकुमार राईले गोरखाहरुको समस्या सम्बोधनको निम्ती कुटनीतिक पहल र शान्तिपूर्ण कार्यक्रम जारी रहेको बेला अवस्थालाई उत्तेजित बनाउने प्रयास भएको बताए ।
‘गोरखा भर्तीको यति लामो अवधि र गोरखा आन्दोलनको यति लामो इतिहासमा पहिलो पटक बेलायत सरकार आफै सहभागी भएर गोरखाहरुको समस्या लिपिबद्ध भएको अवस्था छ,’ सभापति राईले भने,‘यो अवस्थामा कुटनीतिक माध्यमबाट समस्या सम्बोधनको निम्ती त्यस अनुरुपको दबाब अभियान र आन्दोलन गरिनुपर्नेमा अवस्थालाई उत्तेजित बनाउने र वार्ताको सम्भावनालाई रोक्ने गरी यस्तो आन्दोलन हुनु गोरखाहरुको लागि पनि बिडम्बनापूर्ण बिषय हो ।’
‘संत्याग्रह संयुक्त संघर्ष समिति’ले गोरखा भर्ती बिरुद्ध अभियान, गोरखा टे«निङ बन्दका लागि पत्रचार, ब्रिटिस गोरखा क्याम्पमा तालाबन्दी, बेग्लै गोरखा राज्य माग्ने, गोरखा वेल फेयर सेन्टर बन्द गर्ने, सधैंका लागि वार्ता भंग गर्ने जस्ता कार्यक्रमहरु घोषणा गेसोको दाबी छ । यसैगरी संघर्ष समितिले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलायत भ्रमण गर्दा कालो झन्डा देखाउने, भूमीगत हुने, शसस्त्र आन्दोलन गर्नेसम्मका चेतावनीहरु समेत दिएको भन्दै गेसोले असमति जनाएको हो ।
परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, बेलायत स्थित नेपाली राजदूत डा.दुर्गाबहादुर सुवेदी लगायतले गोरखाहरुको समस्या सम्बोधनको निम्ती पहल गरीरहेको बेला वार्ता बिरोधी कार्यक्रम गर्नुलाई गेसोले अशंकको रुपले हेरेको सभापति राईले बताए । उनले सोधे, ‘यस्तो अराजक, गैरजिम्मेवार र उत्तेजनापूर्ण कार्यक्रमहरु किन हुदैछ ? न्यायको पखाई रहेका गोरखाहरु फेरि एक पटक सशंकित बनेका छन् । उनीहरु कताबाट परिचालित छन् ? प्रश्नको बिषय बनेको छ ।’