
काठमाडौं - कुनै समय नेपाली चलचित्रमा राम्रो स्टारडम बनाएका अभिनेता भुवन केसी पछिल्लो केही वर्षयता अभिनयबाट टाढा छन् । उनै भुवनले अब चलचित्र अभिनयमा कमब्याक गर्ने भएका छन् ।
भुवनले दोहोरो भूमिकामा देखिँदै चलचित्र ‘मिस्टर नेपाली’बाट अभिनयमा कमब्याक गर्न लागेका हुन् ।
प्रेमराज दाहालको लगानीमा निर्माण हुने यस चलचित्रलाई देव भुषालले निर्देशन गर्न लागेका हुन् । देवको यो डेब्यू निर्देशन हो । चलचित्रमा भुवनको अपोजिटमा अभिनेत्री रीमा विश्वकर्माले अभिनय गर्नेछिन् । त्यस्तै चलचित्रबाट साहिल श्रेष्ठ र कुशुम राउतले डेब्यू गर्दैछन् । साथमा कमलमणी नेपाल, विष्णु सापकोटा, नन्दु श्रीवास्तव, सुरेन्द्र केसीलगायतका कलाकारहरुको पनि चलचित्रमा अभिनय रहनेछ । चलचित्रमा निरज कँडेलको छायांकन तथा जीवन थापाको सम्पादन रहनेछ । चलचित्रका गीतमा दीपक शर्मा र सुभाष भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी रहनेछ ।
चलचित्रको सोमबार राजधानीमा शुभसाइत गरिएको छ । शुभसाइतसंगै चलचित्रको छायाँकन पनि शुरु भएको छ ।