
काठमाडौँ - झापामा बीउ उत्पादनका लागि धानको ब्याड अब मेशिनबाटै राख्न थालिएको छ । खेतीमा काम गर्ने जनशक्तिको अभाव हुँदा जिल्लाका किसानले ब्याड राख्ने काम यन्त्रबाट गर्न थालेका हुन् ।
गौरादह–५ मा रहेकोे नमूना एकीकृत खेतीका किसानले धानको बीउसमेत यन्त्रबाट राख्न थालेका हुन् । धान खेतीमा यो प्रविधि भित्रिएपछि काममा छिटो र लागत कम हुने किसानले बताएका छन् ।
करीब १०० बिघा क्षेत्रफलमा एकीकृत रुपमा खेती गर्दै आएका किसानले यन्त्रबाटै धानको बीउ राख्न थालेपछि आम्दानीसँगै जनशक्ति र समयको अभावसमेत हुन छाडेको एकीकृत नमूना खेतीका व्यवस्थापक अर्जुन खतिवडाले बताए । उनका अनुसार एक हजार ९ सय ४३ महिला मात्र शेयर सदस्य रहेका उक्त संस्थाले राज्यको ५० प्रतिशत अनुदानमा रु ३० लाखमा जापनीज यन्त्र खरीद गरिएको हो ।
जिल्लामा पहिलोपटक बीउ उत्पादनमा यन्त्रको प्रयोग गर्न थालिएपछि अन्य किसानले समेत चासो दिएको खेतीका अध्यक्ष वेदनिधि चापागाईंले बताए । यन्त्रले ट्रेमा राखेको बीउ रोप्नका लागि मेशिनकै प्रयोग गर्नुपर्ने हुन्छ ।
अब झापाका किसानले धानको खेती गर्दा बीउ राख्नेदेखि काट्नेसम्म यन्त्रले गर्न सक्ने चापागार्इं बताउनुहुन्छ । सबै काममा मेशिनको प्रयोग हुन थालेपछि किसानमा खेती गर्ने जाँगरसमेत बढेको स्थानीय किसान रामकुमार न्यौपानेले बताए ।