०१ असार २०८३, सोमबार
मुख्य समाचार

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन तयारी, भूकम्पको आतंक फैलाउँदा ‘ज्योतिषी’ फन्दामा

नेकपाका केन्द्रीय सदस्यको कार्यविभाजन तयारी, भूकम्पको आतंक फैलाउँदा ‘ज्योतिषी’ फन्दामा

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले केन्द्रीय सदस्यको कार्यविभाजनबारे बुधबार टुङ्गो लगाउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले बुधबार कार्यविभाजन टुङ्ग्याउने गरी छलफल शुरु गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

    उनले भने, “कार्यविभाजनको कार्यसूचीमा छलफल शुरु भएको छ । छलफल सहमति नजिक पुगेको छ । बुधबार केन्द्रीय सदस्यको कार्यविभाजन टुङ्ग्याएर विदेशस्थित प्रवास कमिटीलगायत साङ्गठनिक एकताका बाँकी कामको छलफलमा लाग्नेछौँ ।” 

    एकतापछि नेकपामा ४४१ केन्द्रीय सदस्य छन् । नेकपाको सचिवालय बैठक यही जेठ २ गतेपछि यता बस्न सकेको थिएन । यही जेठ ३ गते पार्टी एकीकरण भएको एक वर्ष पुगेको अवसरमा १९ वटा जनवर्गीय सङ्गठनको नाम, संयोजक र सहसंयोजक तोकेको थियो । प्रधानमन्त्री आलोपालो प्रणालीका आधारमा हुने भनी बाहिर चर्चामा आएको प्रसङ्सबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता श्रेष्ठले त्यस सम्बन्धमा बैठकमा कुनै ठोस निर्णय नभएको  बताए । 

    पार्टीका नेता झलनाथ खनालले पार्टीमा कार्यविभाजनबारे विवाद नभई छलफल नटुङ्गिएर ठोस निर्णयमा पुग्न नसकिएको बताए ।  पार्टी एकतापछि पोलिटब्यूरो गठनसमेत हुन सकेको छैन । सचिवालयको बैठक बुधबार १२ बस्नेछ ।

पाँच पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दायर 

    नेपाल गुणस्तर तथा नापतौल कार्यालयले पाँच पेट्रोल पम्प तथा उद्योगविरुद्ध मुद्दा दर्ता गरेको छ । कार्यालयले चालू आर्थिक वर्षमा नेपाल गुणस्तर तथा नापतौलको मापदण्ड विपरीत सञ्चालित पेट्रोल पम्प तथा उद्योगलाई मुद्दा दर्ता गरेको हो । 

    कार्यालयले मैतीदेवी पेट्रोलियम सप्लायर्स मैतीदेवी, चुच्चेपाटी फ्युल सेन्टर चाबहिल, भद्रकाली आयल स्टोर गोठाटार, न्यू बङ्गलामुखी आयल स्टोर्स सानोभ¥याङ र माः पलाञ्चोक धन्द्रे भीमसेन बेकरी उद्योग काभ्रेपलाञ्चोकविरुद्ध मुद्दा चलाएको हो । कार्यालयका प्रमुख एवं उपसचिव राकेशकुमार झाले नापतौलको मापदण्ड विपरीत सञ्चालन भएकाले कारवाहीका लागि मुद्दा दायर गरेको जानकारी दिए । 

मेलम्चीको काम ठप्प पार्ने चेतावनी

    मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको छ महीना बितिसक्दा पनि स्थानीय मजदूर र ठेकेदारले पाउनुपर्ने रकम भुक्तानीको सुनिश्चितता नभएपछि आयोजना पीडित स्थानीय सङ्घर्ष समिति थप आक्रोशित बनेको छ । 

    समितिले प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय ठेकेदार र मजदूरको रकम भुक्तानी नभई आयोजनास्थलमा जो कोही नयाँ ठेकेदार काम गर्न आए जस्तालाई त्यस्तै शैलीमा जवाफ दिने र जुनसुकै अप्रिय परिणाममा स्वयं व्यक्ति वा संस्था जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ । 

    इटालियन ठेकेदार कम्पनी सिएमसीले आयोजनाको काम छाडेर गएपछि गत फागुनमा पनि आयोजनाका मजदूर, कर्मचारी र आपूर्तिकर्ता आन्दोलनमा उत्रिएका थिए । आयोजनाका कर्मचारीले दुईदेखि सात महीनासम्मको काम गरेको तलब पाएका छैनन् भने स्थानीय आपूर्तिकर्ताले पनि झण्डै रु १७ करोड रकम नपाएको आयोजना पीडित स्थानीय सङ्घर्ष समितिका संयोजक उत्तरकुमार श्रेष्ठले बताए । 

रोजगार व्यवसायीको आन्दोलन

    नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारमा जाने कामदारको उडान ठप्प पारिएको जिकिर गरे पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या रोकिएको छैन । 

    आफूहरूले सरकारसमक्ष राखेको माग पूरा नभएको भन्दै चरणबद्ध सङ्घर्षमा उत्रिएको सङ्घले गत शुक्रबारदेखि कामदारको उडान बन्द गरिएको बताए पनि साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारमा गइरहेका छन् । 

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित वैदेशिक रोजगार विभागअन्तर्गतको श्रम कक्षले साविककै सङ्ख्यामा युवा वैदेशिक रोजगारीमा गएको जनाएको छ । व्यवसायीले उडान बन्द गरेको घोषणा गरे पनि दैनिक एक हजारको सङ्ख्यामा युवा रोजगारीका लागि गन्तव्य मुलुक प्रस्थान गरिरहेका छन् । 

    श्रम कक्षका प्रमख बाबुराम घिमिरेले व्यवसायीको हडतालका कारण वैदेशिक रोजगारीमा जाने कामदारको सङ्ख्यामा खासै कमी नदेखिएको बताए । 

भूकम्प आउँछ भनेर अफवाह फैलाउने पक्राउ 

भूकम्प आउँछ भनेर अफवाह फैलाएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीका अनुसार भोजपुरका जरायोटार घर भई काठमाडौँ सिनामङ्गल बस्ने अर्जुनकुमार थापा क्षेत्रीलाई पक्राउ गरिएको हो ।

यही जेठ २९ गतेभित्रमा भूकम्प जान्छ र प्रलय हुन्छ भनेर भविष्यवाणी गर्दै हिँडेकाले नियन्त्रणमा लिइएको परिसरका प्रवक्ता होविन्द्र बोगटीले बताए ।  उनले आफूलाई ज्योतिषी हो भन्दै विभिन्न यूट्युब च्यानलमा अन्तरवार्ता दिँदै भूकम्पको भविष्यवाणी गर्दै हिँडेको बताइएको छ ।

विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन २०७४ मा विपद् घटना घट्ने भनेर अफवाह फैलाइ मानिसलाई डर, त्रास देखाउने क्रियाकलाप गरेमा एक लाखसम्म जरिवाना र ६ महिनासम्म कैदको व्यवस्था रहेको छ ।

आज सार्वजनिक बिदा

    नेपाल सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘इदुल्ल फित्र’ का अवसरमा बुधबार सार्वजनिक बिदा दिने भएको छ । 

    नेपाल सरकार मन्त्रिपरिषद्को १० जेठमा बसेको बैठकले यस पर्वका दिन बिदा दिने निर्णयानुसार सो निर्णय भएको गृहमन्त्रालयका शाखा अधिकृत अशोककुमार राईद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 

    चन्द्रमाको अवलोकनका आधारमा इद मनाइने भएकाले मुस्लिम आयोगको पहलमा विभिन्न संस्थाको सोमबार बसेको बैठकले सरकारसँग बुधबार सार्वजनिक बिदाको माग गरेको थियो । आयोगको सुझावलाई ध्यान दिँदै गृहमन्त्रालयले यो निर्णय गरेको हो । 

नगद ३८ लाखसहित सात पक्राउ

भारतीय सेनामा भर्ना गराइदिने भन्दै रकम असुली गरिरहेका सात जनालाई बाँके प्रहरीले रु ३८ लाखसहित पक्राउ गरेको छ । बाँकेका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता प्रकाश सापकोटाका अनुसार गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
 
पक्राउ परेका सातै जनाको नाम भने गोप्य राखिएको छ । पक्राउ परेकामध्ये दुई जना महिला छन् । पक्राउ परेकाले भारतीय सेनामा भर्ती गराइदिने भन्दै विभिन्न व्यक्तिसँग रकम उठाएको स्वीकार गरे पनि कोसँग कति रकम असुल गरेको भन्ने नखुलेको प्रवक्ता सापकोटाले जानकारी दिए । 

संविधान संशोधनका लागि निर्देशन होस् : राजपा

    राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले संविधान संशोधनका लागि सभामुखबाट निर्देशन(रुलिङ) का लागि माग गरेको छ । सभामुखबाट प्रतिनिधिसभाको मंगलबारको बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ राजपाका सांसद आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएपछि राजपाका सांसद प्रमोद साहलाई पार्टीका तर्फबाट धारणा राख्न समय प्रदान गरिएको थियो ।

    सभामुखबाट समय लिएपछि सांसद साहले संविधान संशोधन अपरिहार्य भएको हुँदा सभामुखबाट यसका लागि ‘रुलिङ’ होस् भने । उनले संविधान संशोधन गर्न माग गर्दै भएको आन्दोलनमा १२५ जनाको सहादत हुँदा पनि आवश्यकता र औचित्यका आधारमा संशोधन हुन्छ भन्ने भनाइ आइरहँदा तराई मधेशका जनता अचम्ममा परेको भएको बताए । 

अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिमोर्ट पार्किङ वे’

 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ निर्माण गरिएको छ ।

    विमानस्थलको क्षमता विस्तार गर्ने क्रममा उत्तरपूर्वी क्षेत्रमा नयाँ पार्किङ वे बनाइएको हो । उक्त पार्किङ क्षेत्रमा वाइडबडी क्षमताका दुई र न्यारो बडी क्षमताका तीन वटासम्म जहाज पार्किङ गरेर राख्न सकिन्छ ।

नयाँ पार्किङ मंगलबारैदेखि सञ्चालनमा ल्याइने विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।  नयाँ पार्किङसहित आन्तर्राष्ट्रिय पार्किङ वे को सङ्ख्या ११ पुगेको छ । 

 प्रजिअको सरुवा 

गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ), सहायक प्रमुख जिल्ला अधिकारी तथा विभिन्न कार्यालयका उपसचिव सरुवा गरेको छ ।
     
    मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले सोमबारको निर्णयअनुसार २६ जनाको सरुवा गरिएको जानकारी  दिए ।  सबैभन्दा बढी प्रजिअको सरुवा भएको छ । 

थप दुई बु्रमर ल्याउँदै कामपा

    काठमाडौँ महानगरपालिकाले आगामी असारदेखि सञ्चालन गर्ने गरी चीनबाट थप दुई बु्रमर (यान्त्रिक कुचो) ल्याउने भएको छ ।
 
    गत फागुनको अन्तिम साता इटलीबाट ल्याइएको पाँच यान्त्रिक कुचो अपुग भएपछि बढाउन  लागिएको हो । चीनको छिन्दु नगरले कामपालाई अनुदानमा सो यान्त्रिक कुचो दिन लागेको हो ।
  
    ढिलोमा आगामी हप्तामा  काठमाडौँ  आइपुग्ने ती यान्त्रिक कुचो युरो–४ मापदण्डको रहेको र तिनको लम्बाइ ८.६ मिटर र चौडाइ ३.५ मिटर छ । कामपाको प्रवक्ता ईश्वरमान डङ्गोलले १५.८ मेट्रिकटन तौल भएका ती यान्त्रिक कुचो उपत्यका आएपछि सञ्चालनको मार्ग निर्धारण गरिने जानकारी दिए । 

प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुरु हुने

    प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट शुभारम्भ हुने भएको छ । देशमा रहेको बेरोजगार समस्या समाधान गर्न सरकारले अघि सारेको प्रधानमन्त्री रोजगार कार्यक्रम भक्तपुरबाट यही जेठ २४ गते प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा शुभारम्भ हुने भएको प्रतिनिधिसभाका सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्