०६ असार २०८३, शनिबार
मेयरको दम्भ

इटहरीका मेयरको नाक भाँच्ने अभिव्यक्ति : पार्टीले सच्याउने कि अनुमोदन गर्ने ?

इटहरीका मेयरको नाक भाँच्ने अभिव्यक्ति : पार्टीले सच्याउने कि अनुमोदन गर्ने ?

काठमाडौं – इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकालाल चौधरीले पत्रकारको नाकको हड्डी भाँच्न १ करोड रुपैयाँ छुट्याएको भनेर दिएको अभिव्यक्तिले पत्रकारिता क्षेत्र तरङ्गित बनेको छ ।

पछिल्ला केही दिनदेखि उनका अभिव्यक्ति आक्रामक हुँदै गएका छन् । स्थानीय पत्रकार विराट अनुपमप्रति लक्षित गर्दै मेयर चौधरीले कानूनी शासनको खिल्ली उडाउने गरी अभिव्यक्ति दिइरहेका छन् ।

पत्रकार अनुपमलाई मेयर चौधरीले भनेका छन्, ‘तिम्रो नाकको हड्डी भाँच्नलाई १ करोड छुट्याएको छु । एउटा घडेरी छुट्याएको छु । तेरो नाकको हड्डी भाँचे मात्रै मलाई सन्तोष हुन्छ भाइ !’ केही दिनअघि मेयर चौधरीले पत्रकारलाई लोपारेको भिडियो समेत सार्वजनिक भएको थियो ।

मेयर चौधरी यतिमै सीमित भएनन्, उनको धम्कीपूर्ण अभिव्यक्तिबारे प्रतिक्रिया लिन सम्पर्क गर्ने पत्रकारसँग पनि उनी त्यही शैलीमा प्रस्तुत भइरहेका छन् । हिंसालाई बढावा दिने गरी दिएका अभिव्यक्तिप्रति उनलाई कुनै पश्चाताप छैन । उनले आफ्नो पार्टी नेकपा भएको, कम्युनिस्ट शासनमा तत्कालीन माओवादीको जनअदालत, जनसरकार, मार्क्सवाद, लेनिनवाद, माओवाद लगायतको कुरा निकाल्दै आफैं कारवाही गर्नेसम्मका अभिव्यक्ति दिइरहेका छन् । उनका अभिव्यक्तिबाट कानून हातमा लिन खाजेको देखिन्छ ।

तत्कालीन नेकपा एमालेबाट मेयर निर्वाचित भएका चौधरीलाई कानूनी शासनबारे ज्ञान नभएकै हो त ? उनले भन्ने गर्छन्, ‘तपाईले कानून सिकाउनुपर्दैन ।’ तर कानूनी शासनलाई उनले अपमान गरिरहेका छन् ।

इटहरीका मेयर चौधरीको अभिव्यक्ति गलत भएको भन्दै नेकपाका नेता तथा ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले फेसबूकमा स्टेटस लेखेका छन्, ‘इटहरीका मेयर द्वारिका चौधरी हकी स्वभावको हुनुहुन्छ भन्ने कुरा त उहाँको अभिव्यक्तिबाटै थाह हुन्छ । तर पार्टीको मान्यताका बारेमा भने उहाँका बुझाईहरू भने पूर्णतः त्रुटिपूर्ण छन् । नेकपा विधिको शासन र लोकतान्त्रिक मुल्यमान्यताप्रति दृढ छ । जबजबाट दिक्षित कार्यकर्ताले त लोकतान्त्रिक मुल्य मान्यता र विधिको शासनप्रति झनै प्रतिवद्ध रहनुपर्ने हुन्छ । द्वारिकाजीको आक्रोश पीत पत्रकारिता र भ्रष्टाचारविरुद्ध भएपनि अभिव्यक्ति भने अस्वाभाविक र गलत छन् । तसर्थ उहाँले जनप्रतिनिधि र पार्टी कार्यकर्ता दुवै हिसाबले आफ्ना अभिव्यक्तिलाई सच्याउँदै आत्मआलोचना गर्नु उचित हुनेछ ।’

नेकपाकै अर्का नेता योगेश भट्टराईले पनि मेयर चौधरीको अभिव्यक्ति सुहाउने नभएको बताएका छन् । उनले फेसबूकमा लेखेका छन्, ‘इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका चौधरीलाई अनुरोध ! म द्वारिकाजीको हकी स्वभाव, प्रष्ट वक्ता र इमान्दारिताको पहिलेदेखिकै प्रशंसक हुँ । तर केही दिन यता उहाँले पत्रकार र अन्य कतिपय व्यक्तिहरूका बारेमा सार्वजनिक भएका अभिव्यक्ति स्वयम् उहाँले धारण गर्नुभएको सार्वजनिक पद, उहाँले प्रतिनिधित्व गर्नुभएको पार्टी (नेकपा) र स्वयम् उहाँको राजनीतिक उचाइका लागि कदापी सुहाउँदैन । तसर्थ आफ्ना भनाईप्रति सार्वजनिक रुपमा आत्मालोचना गरी पदीय गरिमा र पार्टीको प्रतिष्ठाप्रति सचेत रहन मेयर द्वारिका चौधरीलाई म विनम्र अनुरोध गर्दछु ।’

मेयर आवद्ध पार्टी नेकपाका नेताले सामाजिक सञ्जालमा अभिव्यक्तिको विरोध गरेपनि पार्टीभित्र त्यो अभिव्यक्तिलाई सच्याउने, मेयरलाई कारवाही गर्ने विषयमा प्रक्रिया अगाडि बढेको सार्वजनिक भएको छैन ।

नेकपा नेतृत्वको सरकारले पत्रकारलाई अप्ठ्यारो पर्ने विधेयक संसदमा दर्ता गरेको भनेर विरोध भइरहेका बेला नेकपाकै मेयरबाट यस्ता अभिव्यक्ति सुझबुझपूर्ण तरिकाले आउनु संयोग मात्रै हो कि सुनियोजित ? यो प्रश्नको जवाफ नेकपा पार्टीले मेयरमाथि गर्ने कारवाहीले दिनेछ । नेकपाले मेयरको अभिव्यक्ति सच्याउला वा अनुमोदन गर्ला ? केही दिनमा प्रष्ट हुनेछ ।

salt training

कमेन्ट गर्नुहोस्