३० असार २०८३, मंगलबार

बजेटप्रति निर्यातकर्ताको असन्तुष्टि, भन्छन्- गत वर्ष पाउनुपर्ने सहुलियत अझै पाएनौं

बजेटप्रति निर्यातकर्ताको असन्तुष्टि, भन्छन्- गत वर्ष पाउनुपर्ने सहुलियत अझै पाएनौं
सन्दर्भ तस्वीर

काठमाडौं– निर्यातकर्ताहरूले आगामी आर्थिक वर्ष २०७६/०७७को बजेटप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

निर्यातजन्य वस्तुगत संघले बुधवार पत्रकार सम्मेलन गर्दै आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक रहेको जानकारी गराएको हो । निर्यातजन्य वस्तुमा चालु आर्थिक वर्षमै दिइने भनेको अनुदान आफूहरूलाई उपलब्ध नगराएको भन्दै निर्यातजन्य वस्तुगत संघले निर्यात क्षेत्रका लागि आगामी आर्थिक वर्षमा समेत सन्तोषजनक कार्यक्रम नल्याएको बताएको हो ।

निर्यातजन्य वस्तु प्रवर्द्धनका कार्यक्रम ल्याइने विषय बजेटमा समावेश भएपनि निर्यातमा सुहलियत दिइने जस्ता विषय बजेटमै स्पष्ट उल्लेख नगरिएकोले आगामी आर्थिक वर्षको बजेट सन्तोषजनक भन्न नमिल्ने संघका अध्यक्ष रामबहादुर गरुङले बताए । उनले विदेशमा मान्छे बेचेर देश विकास नहुने भन्दै त्यसका लागि वस्तु निर्यातमा विशेष ध्यान दिनु पर्ने बताए ।

आजको दिनमा नेपालको कुल वैदेशिक व्यापारमा ९७ प्रतिशत आयात भइरहेको र ३ प्रतिशत मात्रै निर्यात भइरहेको भन्दै गुरुङले मुलुकको निर्यात कम्तीमा ५० प्रतिशत नपुर्‍याउन्जेल मुलुकको विकास नहुने बताए ।

छिमेकी मुलुकहरूको तुलनामा नेपालमा वस्तु १५ देखि १८ प्रतिशत महंगो रहेकाले निर्यातमा असहज भएको भन्दै त्यसमा विशेष अनुदान दिएर निर्यातलाई प्रोत्साहन गर्न सकिने संघले विज्ञप्तिमा उल्लेख गरेको छ । छिमेकी मुलुकहरूमा निर्यातमा औसतमा १० देखि १५ प्रतिशत अनुदान दिइने भएकाले सस्तो भएको र नेपालमा समेत सोही अनुपातमा अनुदान दिइनुपर्ने संघले माग गरेको छ ।

नेपालमा निर्यातजन्य वस्तुमा ३ देखि ५ प्रतिशत अनुदान दिइने भनेर घोषणा गरिने भएपनि त्यो अनुदान आफूहरूले नपाउने संघको गुनासो थियो । तयारी पोशाक संघका अध्यक्ष समेत रहेका चण्डीका अर्यालले आगामी आर्थिक वर्षका लागि पेट्रोलियम पदार्थमा लिइने भनेको एक रुपैयाँ कर सोही दिनदेखि कार्यान्वयनमा आएपनि आफूहरूले गत वर्षको बजेटमै घोषणा गरिएको अनुदान रकम नपाएको बताए । ‘आगामी आर्थिक वर्षका लागि एक रुपैयाँ अतिरिक्त रकम लिइने भनेर बजेट मार्फत् भनियो । त्यो सोही दिनदेखि कार्यान्वयनमा आयो,’ उनले भने, ‘हामीले आर्थिक वर्ष २०७५/०७६को बजेटमै पाउने भनेको ५ प्रतिशत अनुदान पाएका छैनौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्