
काठमाडौँ। सार्वजनिक जग्गा मिचिएको स्थानलाई भत्काउँदै जाने नगर विकास प्राधिकरणले नै कान्तिपथ स्थित निर्वाचन आयोगको मूलढोकाको ठीक पारि लिच्छविकालीन कुमारी मन्दिर छोपेर बनाइएको भुइँतले घरमा रक्सी पसल चलाउने गरी भाडामा लगाएको छ ।
प्राधिकरणका आयुक्त भाइकाजी तिवारीका अनुसार प्राधिकरणले नै यहाँ नेपाली कलात्मक शैलीमा घर बनाएको हो । भाडामा लिने अमित अग्रवालले प्राधिकरणलाई मासिक ३० हजार रुपियाँ तिर्दै आउनुभएको छ ।
वास्तवमा नापी नक्सा र फिल्डबुकमा नगर १०२–१०६४–२० कित्ता नं। ५७६ को तीन आना तीन पैसा तीन दाम क्षेत्रफलको योजग्गाको मोही महलमा श्रीकुमारी स्थान जनिएको छ । प्राधिकरणको कुनै हकदैया उल्लेख छैन ।
गुठी संस्थानका उपप्रशासक एवं प्रवक्ता सरोज थपलियाका अनुसार गुठी संस्थान बाहेक अरु कसैको हक नरहेको ९गुठी तैनाथी० यो जग्गाको भोग संस्थानले नै गर्न पाउनुपर्छ भन्ने माग प्राधिकरणसँग वर्षौदेखि गर्दै आएका हौँ, सुनुवाइ भएको छैन ।
आयुक्त तिवारीले पनि संस्थानले यस्तो माग गर्दै आएको स्वीकार गर्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘संस्थानले आफ्नो स्थान माग गरेको हो तर यहाँ प्राधिकरणले आफ्नै खर्चमा कलात्मक घर बनाइसकेको छ ।’
मालपोत कार्यालयको अभिलेख अनुसार २०४४ मङ्सिर २३ को निर्णय समेतले यो जग्गा गुठी संस्थानको रहेको ठहर समेत गरेको छ । आयुक्त तिवारी भन्नुहुन्छ, ‘उहिल्यै यहाँ साझा बस स्टप थियो, सामान्य छाप्रो थियो । ’गोरखापत्र दैनिकमा खबर छापिएको छ ।