
काठमाडौं – क्रिकेट लगायत विभिन्न खेलमा सट्टेबाजी गर्ने ३ जना पक्राउ परेका छन् ।
इन्डियन प्रिमियर लिग क्रिकेट, विश्वकप क्रिकेट, च्याम्पियनशीप, फूटबल समेत खेलमा विभिन्न व्यक्तिलाई हारजीतको बाजी राख्न लगाई सट्टेबाजी गरी अवैध रुपमा रकम असुली गर्ने ३ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१५ स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका ३६ वर्षका बज्र प्रकाश लामा, काठमाडौं स्वयम्भू बस्ने सिन्धुपाल्चोक जुगल गाउँपालिका–२ गोल्चे घर भएका ३० वर्षीय विद्युत् प्रकाश लामा र काठमाडौं महानगरपालिका–१५ रानीवन बस्ने रामेछाप लिखु गाउँपालिका–२ सैपु घर भएका ३३ वर्षीय उमेश कार्की छन् ।
महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौंको बिजेश्वरी र न्यूरोडबाट सट्टेबाजीमा प्रयोग भएको १ लाख रुपैयाँ नगदसहित फेला पारी पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बिहीवार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।