
काठमाडौँ - हरेक वर्ष कामदारका रूपमा कोरिया जान चाहने नेपालीहरूको संख्या बढ्दो छ । शनिवार (भोलि) हुने भाषा परीक्षामा सहभागीको संख्या अघिल्लो वर्षको तुलनामा १० हजार भन्दा बढीले वृद्धि भएको छ । गत वर्ष ८२ हजार हाराहारीले परीक्षा दिएका थिए भने यो वर्ष ९२ हजार भन्दा बढी परीक्षामा सहभागी हुनेछन् ।
इपीएस अन्तर्गत जेठ २५ र २६ गते कोरियाली भाषाको भाषा परीक्षा हुँदैछ । यससँगै वर्षभरि मेहेनेत गरेर कोरियाली भाषा पढेकाहरूको मुटुको ढुकढुकी बढिरहेको छ । इपीएस कोरिया शाखाले भाषा परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताएको छ ।
भाषा परीक्षाका लागि काठमाडौँमा २१, पोखरामा ४ र ललितपुरमा ७ स्थानमा परीक्षा केन्द्र तोकिएको छ । इपीएस कोरिया शाखाले जनाए अनुसार पहिलो सिफ्टको परीक्षा बिहान १० बजेदेखि र दोस्रो सिफ्ट दिउँसो १ बजेर ३० मिनेटदेखि शुरू हुनेछ ।
परीक्षामा आउने सबै प्रश्नहरू विकल्पसहितका हुन्छन् । २ सय अंकको परीक्षामा जम्मा ५० प्रश्न सोधिन्छ । ५० मध्ये २५ वटा प्रश्नको उत्तर दिँदा ४ वटा विकल्पमध्ये एउटामा चिन्ह लगाउनुपर्छ । अर्को २५ वटा प्रश्नका उत्तर भने अडियो सुनेर सही उत्तरमा चिन्ह लगाउनुपर्छ । भाषा परीक्षा उत्तीर्ण भएर कोरियामा काम गरिरहेका कतिपयले समयको व्यवस्थापन गर्न सक्ने हो भने परीक्षा खासै गाह्रो नहुने बताउँछन् ।
हेर्नुहोस् सिम्बोल नम्बर र परीक्षा केन्द्र -