
बुटवल – ५ नम्बर प्रदेशमा नदीजन्य पदार्थको अवैध उत्खनन् नरोकिएको सरोकारवालाले औल्याएका छन् ।
उनीहरूले अधिकार क्षेत्रको विवादका कारण अनुगमन फितलो हुँदा दोहन बढेको स्वीकार गरे ।
रिपोर्टर्स क्लब प्रदेश ५ ले शुक्रवार बुटवलमा आयोजना गरेको साक्षात्कारमा अर्थ, उद्योग तथा वातावरण समिति सभापति दधिराम न्यौपानेले अनुगमनमा जाने निकायहरु धेरै भएपछि वातावरण समिति अनुगमनमा नगएको बताए । ‘सबै अनुगमनमा जाने तर परिणाम केही नहुने देखेपछि हामी अनुगमनमा नजाने निर्णयमा पुगेका हौं,’ उनले भने, ‘तर वास्तविक अनुगमनको अधिकार वातावरण समितिलाई छ ।’
सभापति न्यौपानेले कानून तयार भइसकेको र कानून कार्यान्वयनमा आएपछि समस्या समाधान हुने बताए । प्रदेश लेखा समिति सदस्य वैजनाथ कलवारले नदीमा चरम दोहनको अवस्था रहिरहे साउनपछि खोलामा माटो मात्र हुने बताए । कलवारले अनुगमनका क्रममा क्रसरहरू अवैधानिक रुपमा सञ्चालनमा रहेको पाइएको बताए ।
जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माले अवैधरुपमा भइरहेको उत्खनन रोक्ने प्रतिबद्धता जनाए । खोलामा एक्साभेटर पस्नासाथ ध्वस्त हुने गरी दोहन भयो भन्नु अधुरो टिप्पणी भएको तर्क गरे ।
तत्कालीन जिल्ला विकास समिति रुपन्देहीका उपसभापति रामचन्द्र ढकालले नदीको दोहन चरम रुपमा भइरहेकाले नियन्त्रण जरुरी रहेको धारणा राखे । उनले विकास निर्माणका लागि नदीजन्य पदार्थ निकाल्नु स्वभाविक भएपनि अवैध उत्खननलाई रोक्नुपर्ने बताए ।
वातावरणविद् प्रा.डा. नारायण कँडेलले विकास निर्माण गर्दा वातावरणीय पक्षलाई सरोकारवालाले ध्यान दिन नसकेको धारणा राखे । वातावरणीय पक्षलाई ख्याल नगरी हुने दोहनले भविष्यमा विकराल समस्या उत्पन्न गर्नेतर्फ उनले सचेत गराए ।