
खोटाङ– सगरमाथा राजमार्गको फोक्सिङटारस्थित सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि खोटाङबाट तराईका जिल्ला आवतजावत गर्ने मुख्य नाका बन्द भएको छ ।
वर्षा शुरु भएसँगै नदीमा पानीको बहाव बढेपछि खोटाङ र उदयपुर जोड्ने सुनकोशी नदीमा जडान गरिएको अस्थायी बेलिब्रिज निकालिएपछि तराईका जिल्ला जोड्ने नाका बन्द भएको हो ।
हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरिएको अस्थायी बेलिब्रिज निकालिएसँगै दिक्तेल–गाईघाटबीचको सीधा यातायात सम्पर्क छ महीनाका लागि बन्द भएको छ । फोक्सिङटारको बेलिब्रिज निकालिएपछि यातायातका साधन वारीको वारी र पारीको पारी भएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए ।
गत मङ्सिरदेखि सञ्चालनमा ल्याइएको खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने फोक्सिङटारको अस्थायी बेलिब्रिज गत सोमबार निकालिएपछि दिक्तेलबाट सिधै गाईघाट हुँदै धरान, विराटनगरलगायतका शहर जाने छोटो बाटो बन्द भएको छ ।
फोक्सिङटारमा पक्की पुल नभएपछि पूर्वी शहर जानआउन एक मात्र घुमाउरो बाटो दिक्तेल–हलेसी–जयराम–घुर्मी–कटारी सडक प्रयोग गर्नुपर्ने बाध्यता शुरु भएको छ । फोक्सिङटारमा पक्की पुल निर्माण नहुँदा विकल्पमा बेलिब्रिज राख्ने गरिएको हो । खोटाङ भित्रिदा वा बाहिरिदा फोक्सिङटारमा सुनकोशी र जयरामघाटमा दूधकोशी पार गर्नुपर्ने बाध्यता छ । बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक रु ८० लाखको हाराहारीमा राज्यकोषको रकम खर्च हुँदैआएको छ ।