२५ जेठ २०८३, सोमबार

कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

कोरियाली भाषा परीक्षामा ४६ हजार सहभागी, ४७ पक्राउ

काठमाडौं–सन् २०१९ को कोरियाली भाषा परीक्षामा आज पहिलो दिन ४६ हजार युवा सहभागी भएका छन् । काठमाडौँ, ललितपुर र पोखराका विभिन्न ३२ केन्द्रमा एकैसाथ सञ्चालन भएको भाषा परीक्षामा ४६ हजार १९६ जना सहभागी भएको इपिएस कोरिया शाखाले जनाएको छ ।
 
        आजको परीक्षामा चार हजार ३७ परीक्षार्थी अनुपस्थित भएको शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिनुभयो । परीक्षामा अमर्यादित गतिविधि गर्ने ४७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरुलाई सार्वजनिक अपराध ऐनअनुसार कारवाही हुने प्रहरीले जनाएको छ । परीक्षामा थप कडाइ गरिएकाले विगतको तुलनामा यसपटकको परीक्षा थप मर्यादित ढङ्गबाट चलेको उहाँले जानकारी दिनुभयो । 
 
        भाषा परीक्षा आइतबार पनि सञ्चालन हुनेछ । सन् २०१९ को प्रथम चरणको भाषा परीक्षामा सहभागी हुन ९२ हजार ३७६ युवाले आवेदन फारम भरेका थिए । उत्पादनमूलक क्षेत्रतर्फ ६३ हजार ४८७ र कृषि तथा पशुलापन क्षेत्रतर्फ २८ हजार ८८९ जनाले फारम भरेका थिए । 
 
        भाषा परीक्षाको आवेदन गत चैत ८ देखि १७ गतेसम्म खुला गरिएको थियो । दक्षिण कोरिया सरकारले सन् २०१९ का लागि उत्पादन र कृषि तथा पशुपालन क्षेत्रमा गरी १० हजार ५० नेपाली कामदार लैजाने निर्णय गरेको छ । कोरियाले सन् २०१९ का लागि उत्पादनमूलक क्षेत्रतर्फ सात हजार ५० र पशुपालनतर्फ तीन हजार कामदार लैजानेछ ।
 
        कोरिया सरकारले इपिएसअन्तर्गत सन् २००८ देखि नेपाली युवालाई आफ्नो देशमा रोजगारीको अवसर उपलब्ध गराउँदै आएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्