
बर्दिया – जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने भारतको वहराइच जिल्ला लक्कडबाबामा मेला हेरेर फर्किने क्रममा भे१त ५७५२ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा गुलरिया–८ का ९ वर्षीय समुन लोधको शनिवार मृत्यु भएको छ ।
उनको नेपालगञ्जस्थित नर्सिङहोममा उपचारका क्रममा मृत्यु भएको हो ।
गुलरिया–९ डिब्बा भन्ने गाउँमा भएको दुर्घटनामा १४ घाइते भएको प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । घाइतेमध्ये गुलरिया–८ कै १५ वर्षीया नीलम लोध र ९ वर्षीया सुमनकुमारी लोधको अवस्था गम्भीर छ ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि दुवैलाई नेपालगञ्ज सिफारिश गरिएको छ । नीलम र सुमनकुमारीको अवस्था चिन्ताजनक भएकाले नेपालगञ्ज पठाइएको प्रहरी नायब उपरीक्षक मदन सिंहले बताए ।
बर्सेनि जेठ महिनामा लाग्ने लक्कडबाबा मेला हेर्न बर्दियाका ८ वटै स्थानीय तहको प्रत्येक बस्तीबाट धेरै संख्यामा नेपाली तीर्थालु जाने गर्छन् ।