२५ जेठ २०८३, सोमबार

ऋणमा डुबेको पाकिस्तानमा सेनाको बजेट कटौती : बचेको पैसा आदिवासी इलाकालाई

ऋणमा डुबेको पाकिस्तानमा सेनाको बजेट कटौती : बचेको पैसा आदिवासी इलाकालाई

काठमाडौँ - पाकिस्तानी सेनालाई आगामी आर्थिक वर्षका लागि आफ्नो रक्षा बजेट कटौती गर्न बाध्य हुनुपरेको छ ।

पाकिस्तानी सेनापति असिफ गफूरले एक ट्वीटमार्फत बजेट कटौती हुँदैमा पाकिस्तानी सेनाको सुरक्षा र प्रतिरक्षात्मक क्षमतामा कुनै कमी नआउने स्पष्ट पारेका छन् ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सेनाको यस निर्णयको स्वागत गरेका छन् ।

'कैयौं सुरक्षा चुनौती हुँदा हुँदै पनि आर्थिक संकटको समयमा सेनाको तर्फबाट आफ्नो खर्चमा कटौतीको निर्णयलाइ मैले स्वागत गर्छु,' ४ जुनमा एक ट्वीट गर्दै खानाले खनेका छन्, 'हामी यसरी बचाइएको पैसालाई बलुचिस्तान र आदिवासी इलाकामा खर्च गर्नेछौं ।'

पाकिस्तानी सेनापति गफूरले भारतीय सञ्चारमाध्यमहरूले झुटो कथा रचेको आरोप लगाए । उनले ट्वीटरमार्फत भारतीय सञ्चारमाध्यमहरूले बजेट कटौती गर्ने निर्णयलाई तोडमरोड गरेर प्रस्तुत गरेको आरोप लगाएका हुन् ।

'यो भुल्नु हुँदैन कि हामी उही बजेटका साथ उही सेना छौं, जुन फरवरी २०१९ मा थियो,' उनले भने, 'हामीसँग जवाफ दिने पूरै क्षमता छ, याद राख्नुस्, यो बजेट कटौती होइन सेनाको फैसला हो र पाकिस्तान सेनाको पछाडि दह्रोसँग उभिएको छ ।'

पाकिस्तानी सञ्चारमाध्यम पाकिस्तान ट्रिब्युनले अर्थ मन्त्रालय स्रोतलाई उद्धृत गर्दै आगामी आर्थिक वर्षको अनुमानित रक्षा बजेट १ दशमलव २ ट्रिलीयन पाकिस्तानी रुपैयाँ भएको बताएको छ । जुन चालू आर्थिक वर्षको रक्षा बजेटभन्दा १ सय ७० अर्ब रुपैयाँ बढी हो ।  

एक रिपोर्ट अनुसार पाकिस्तानमाथि ९१ दशमलव ८ अर्ब डलर ऋण छ । ६ वर्ष पहिला तत्कालीन प्रधानमन्त्री नवाज सरिफको शासनकालमा भन्दा अहिले पाकिस्तानको ऋण ५० प्रतिशत बढेको छ ।

पाकिस्तानको ऋण र कूल गाहर्स्थ उत्पादनको अनुपात ७० प्रतिशत पुग्न लागेको छ । कतिपय विश्लेषकहरूले पाकिस्तानको ऋण बढ्नुमा चीनको हात भएको टिप्पणी गरेका छन् ।

उनीहरूका अनुसार चीनले दिएको ऋणको दुई तिहाइ भन्दा बढीको ब्याज ७ प्रतिशत भन्दा बढी छ ।

-एजेन्सीको सहयोगमा 

salt training

कमेन्ट गर्नुहोस्