३२ असार २०८३, बिहीबार

४ वर्ष बितिसक्दा पनि सडक नबनेपछि स्थानीय आन्दोलित

४ वर्ष बितिसक्दा पनि सडक नबनेपछि स्थानीय आन्दोलित
फाइल फोटो

काठमाडौं- चाबहिलबाट थली हुँदै साँखुसम्म पुग्ने सडक नबनेपछि स्थानीय आन्दोलनमा उत्रिएका छन् ।

सडक निर्माण थालेको चार वर्ष बितिसक्दा पनि सडक नबनेपछि थलीका स्थानीय आन्दोलित भएका हुन् ।

वैशाखदेखि बौद्ध, जोरपाटी, नारायणटारको विभिन्न ठाउँमा कालोपत्र गर्न थालेको भए पनि थलीबाट साँखु जाने सडकखण्ड कालोपत्र नभएको भन्दै सोही क्षेत्रका स्थानीयले दुःखेसो पोखेका छन् । सलम्बुटारदेखि इन्द्रायणी, नयाँपाटी, डाँछी, थलीलगायतका सडकमा ठूला–ठूला खाल्डाखुल्डी छन् । दैनिक आवतजावत गर्नुपर्ने हजारौं सवारीसाधन र उपभोक्ताले सडककै कारण निकै कष्ट भोग्नुपरेको स्थानीय जयराम पुडासैनीले बताए । 

सोही विषयलाई लिएर मंगलवार बिहान थलीका स्थानीयले सडक बन्द गर्दै प्रदर्शनमा उत्रिएका हुन् । स्थानीयले कुनै पनि सवारीसाधन चल्न नदिइ सडक अवरुद्ध गरेका थिए । सडक निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदार, स्थानीय प्रशासन र स्थानीय जनप्रतिनिधिलाई समेत ध्यानार्कषण गराउँदै प्रदर्शन गरेका थिए । 

प्रदर्शनकारीले कान्तिपुर क्याम्पस अगाडि, मिलनचोक र थलीमा सडक अवरोध गरेका थिए । सडक निर्माण छिटो गर्नुपर्ने स्थानीयको माग थियो । सरकारले गत साल २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउने योजना ल्यायो र काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २०७२ जेठमा सडकखण्ड निर्माणका लागि बोलपत्र आह्वान गरेर असोजमा चार निर्माण व्यवसायीलाई ठेक्का दिएको थियो ।

कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर सडकखण्डमा चार कम्पनीले समयमै निर्माण नसक्ने भएपछि थप एक कम्पनी गरी पाँच ठेकेदार कम्पनीले यो सडकको विस्तारको जिम्मा पाएका थिए । तर अहिलेसम्म उक्त सडकखण्डले सम्पन्नता पाउन सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्