गलेश्वर- सात वर्षअघि युरोपमा करीब डेढ दशकको बसाइलाई बिट मारेर काम गर्दा ठेला उठेको रित्तो हात र उल्टो सात लाख रुपैयाँ ऋण बोकेर घर फर्केका बेनी नगरपालिका–३ भकिम्लीका ४२ वर्षीय धनबहादुर श्रीष अहिले वार्षिक १४ लाख रुपैयाँ कमाइ गर्दै आएका छन् ।
झट्ट सुन्दा सहजै विश्वास गर्न नसकिने श्रीषको सफलताको कथा कुनै हिन्दी चलचित्रको कल्पना जस्तै लागे पनि नपत्याइ भने धरै छैन । विदेशमा रहँदा पैसा कमाउनु त कताकता उल्टै ऋण लागेपछि त्यही ऋण तिर्न गरेको बाख्रापालन अहिले पैसा आउने मूल जस्तै बनेको छ ।
श्रीषले २०६१ सालबाट तीन लाखको लगानीमा शुरू गरेको बोयर बाख्रापालनबाट अहिले वार्षिक १४ लाख रुपैयाँसम्म कमाइ गर्दै आएका छन् । 'विदेशबाट फर्किँदा लागेको सात लाख रुपैयाँ ऋण तिर्नका लागि स्थानीय जातका बाख्रा बेचेर तीन लाखको लगानीमा बोयर जातका बाख्रापालन शुरू गरेको हुँ,' श्रीषले भने, 'छ वर्षको यो अवधिमा ऋण तिरेर पनि व्यवसाय वृद्धि गर्नाका साथै २० लाख रुपैयाँ बचत गर्न सफल भएको छु ।'
श्रीषको खोरमा अहिले ६० वटा बोयर जातका बाख्रा छन् । करीब डेढ लाख पर्ने बोकासमेत छन् । बोयरको बोका खरीद गरी ल्याएर स्थानीय लोकल जातको बाख्रासँग क्रस गराइ त्यसबाट उत्पादित बाख्रालाई प्रतिकेजी एक हजार ५०० मा बिक्री गर्ने गरेको श्रीष बताउँछन् । श्रीष पशुपालन तथा कृषि फार्म प्रालि दर्ता गरी व्यावसायिक बाख्रापालन गरेका श्रीषले बीउका रूपमा बोयर जातको बाख्रा पालेकाले बोयरको स्रोत केन्द्र बनाउन आवश्यक पूर्वाधार र तालिम लिइरहेका छन् ।
श्रीषले अफ्रिकन जातको बाख्रापालनको मोडललाई प्रयोग गरिरहेका छन् । फार्ममा ६० वटा बोयर जातका बाख्रा रहेका छन् । हाइब्रिड पद्धतिबाट बाख्राहरू उत्पादन सकिने बाख्रापालनसम्बन्धी तालीम लिएपछि श्रीषले आफूले सिकेको सीप अन्य किसानलाई पनि सिकाउँदै आएका छन् । जन्मदर बढी हुने, छिटो तौल बढ्ने, बाली लाग्ने, कम रोग लाग्ने, दूध–मासु दुवैका लागि प्रयोग हुने, आकर्षक र कसिलो शरीर हुनेलगायतका विशेषताहरू अफ्रिकन बोयर जातका बाख्रामा हुने हुँदा यी जातका बाख्राबाट छोटो समयमा नै मनग्य कमाइ गर्न सकिने उनको अनुभव छ ।
श्रीषको बाख्रा फार्म हेर्न नेपालबाट मात्र होइन भारतको दार्जलिङ, सिक्किमबाट समेत कृषकहरू आउने गरेका छन् । श्रीष भन्छन्, 'मेरो फार्म खोज्दै पूर्वी नेपालका विभिन्न जिल्ला र भारतबाट समेत गरी दुई वर्षको अवधिमा ५५ वटा समूह यहाँ आएका छन् ।'
'मैले विदेशमा धेरै हण्डर खाएँ,' आफ्नो विदेशी भूमिमा भोगेको आफ्नो अतीतलाई सम्झँदै श्रीषले भने, 'पसिनाका धारा छुटाउँदै काम गर्दा पनि तलब पाइनँ, बिरामी परेँ, साथीहरूबाट ऋण लिएर उपचार गरेँ, नेपाल फर्किन पनि ऋण लिएँ, त्यही ऋण तिर्न शुरू गरेको यो व्यवसायले मलाई फलिफाप भयो ।'
खाडी मुलुकमा पुगेर फर्किएका युवा पशुपालनमा आकर्षित भइरहेको अवस्थामा श्रीषले विदेशमा आफूले खाएको हण्डरलाई सम्झिएर स्थलगत रुपमा आएका र फोनबाट समेत बाख्रापालनका बारेमा सिकाउने र समस्या समाधान गरेका छन् । श्रीषले अबको तीन वर्षभित्र वार्षिक २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरी खोर विस्तारसहितको योजनासमेत बनाएका छन् ।
मोरङबाट श्रीषको बाख्रा फार्म अवलोकनका लागि आएको केशव न्यौपानेको टोलीले समूह बनाएर फार्मको अवलोकन भ्रमण गर्यो । म्याग्दीको विकट गाउँमा नमूना बाख्रापालनको जानकारी पाएका न्यौपानेले जिल्लाको सदरमुकाम बेनी नजीकै बस्तीमा भएकाले सहजै सवारीसाधनमै टोलीसँगै पुगेर फार्मको अवलोकन गरे ।
उनले खोर व्यवस्थापनलाई भन्दा पनि स्थानीय जातको बाख्राबाट व्यावसायिक बाख्रापालन शुरू गर्दै वार्षिक १४ लाखसम्म आम्दानी गर्न सक्ने श्रीषको मेहनत र शैलीबाट सिक्ने अवसर पाएको बताए । 'दुई/चार वटा स्थानीय जातका बाख्रापालनबाट उनले गरेको कामबाट धेरैले सिक्न सक्छन्, खोरदेखि खेतबारीमा घाँससम्म विस्तार गरेर सहजै बाख्रापालन गर्न सकिन्छ भन्ने एउटा उदाहरण उहाँबाट सिक्न सफल भएका छौं,' न्यौपानेले भने ।
न्यौपानेले श्रीषको फार्मलाई थप प्रचारप्रसार गर्ने बताए । केन्द्रीय भेडाबाख्रा प्रवर्द्धन केन्द्रको सिफारिशमा मेचीदेखि महाकालीसम्मका बाख्रापालक कृषकमा लोकप्रियता कमाइरहेका श्रीषको फार्ममा पशु विकास अधिकृत इश्वरी खतिवडासहितको विज्ञको टोलीसमेत पुगेको छ ।
हालसम्म श्रीषको फार्म खोज्दै ५५ समूह र डेढ सयभन्दा धेरै व्यक्तिगत रुपमै आएका छन् । धेरै भ्रमणमा आउने जिल्लामा बुटवल, भैरहवा, मोरङसहित पश्चिम नेपालका विभिन्न जिल्लाबाट छन् । छिमेकी राष्ट्र भारतको दार्जलिङ आसपासका क्षेत्रबाट समेत आउने गरेका छन् । -ध्रुवसागर शर्मा/रासस