२८ असार २०८३, आइतबार

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन, युवतीमाथि एसिड हान्नेलाई चार वर्ष कैद

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रर्दशन, युवतीमाथि एसिड हान्नेलाई चार वर्ष कैद

काठमाडौं– प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन विरुद्ध प्रदर्शन गरिएको छ ।

माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म आयोगको परीक्षा तयारी गरिरहेका विद्यार्थीहरूले प्रदर्शन गरेका हुन् । लोकसेवा तयारी तदर्थ सङ्र्घष समिति गठन गरेर उक्त निर्णय विरुद्ध आन्दोलन तथा दबाब मूलक कार्यक्रम भन्दै प्रदर्शन गरेको हो । सोमबार समितिले सरकारलाई स्थानीय तहको विज्ञापन रद्द गरेर स्थानीय तहमा करारमा कर्मचारी नियुक्त गर्न निर्देशन दिएको थियो । 

    प्रदर्शनकारीहरूले लोकसेवामा हस्तक्षेप चाहिदैन, नातावाद, कृपावाद भित्र्याउन पाइँदैन, लोकसेवा आयोग सबैको सरोकार, स्वस्थ निष्पक्ष पारदर्शिता आधार लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए । प्रशासन सेवा समूहको नायब सुब्बाको तयारी गरिरहेका बर्दिया गेरुवा गाउँपालिका–३ का लक्ष्मण अधिकारीले विज्ञापन रद्द गर्ने निर्णयले सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारबाट वञ्चित गराउन खोजेकाले आन्दोलन गर्नुपरेको बताए ।  

    यस्तै बाजुराको मार्तडीका चन्द्रा खड्काले आफू क्याम्पसको परीक्षा नै नदिएर स्थानीय तहको तयारीमा लागेको भन्दै अहिले आएर समितिका मान्छेले आफ्नालाई करारमा नियुक्त गरेर हामीलाई वञ्चित गराउन लागेकाले आन्दोलन गर्नुपरेको बताए । 

सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । 
बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ

अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको बैंकिङ प्रणाली दक्षिण एशियाकै सुदृढ रहेको बताएका छन् । 

    निक्षेप तथा कर्जा सुरक्षण कोष भवनको शिलान्यास गर्दै उनले सम्पूर्ण बैंकिङ प्रणालीलाई बलियो बनाउन बैंकको क्षमता बढाउने, कारोबारलाई सुरक्षित बनाउँदै बैंकप्रति विश्वसनीयता बढाउन तथा परदर्शीता ल्याउन विभिन्न कदम चालिएको बताए । 

    अर्थमन्त्री डा खतिवडाले नेपालको बैंकिङ प्रणाली सक्षम भएकाले नै विदेशी बैंकले नेपाली बैंकलाई ऋण दिन पत्याएको बताए । 
    निक्षेप बीमाको रकम र बीमा दायित्व बढ्दै गएकाले कोषको जिम्मेवारी बढेको उल्लेख गर्दै उहाँले कोषलाई रु १० अर्बको चुक्ता पूँजी भएको बलियो निक्षेप बीमा गर्ने र कर्जा सुरक्षण गर्ने संस्थाका रूपमा लैजाने बताए । 

    तीन महिना नदी उत्खननमा रोक

    जिल्ला अनुगमन तथा समन्वय समिति सिन्धुपाल्चोकले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ । जिल्ला समन्वय समितिको निर्णयानुसार आउँदो असार १ गतेदेखि नदी उत्खनन् गरी बालुवा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पाइने छैन । 

    सुनकोशी, इन्द्रावतीजस्ता ठूला नदीका साथै मेलम्ची, ब्रह्मायणी नदीमा अत्यधिक उत्खनन भई सङ्कटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका प्रमुख कृष्णगोपाल तामाङले जानकारी दिए । 

    
देशकै दोस्रो ठूलो खानेपानी सुधार आयोजनाको शिलान्यास
    
नेपाल सरकारको ऋण लगानी र जापान सरकारको अनुदान सहयोगमा पोखरामा देशकै दोस्रो ठूलो खानेपानी सुधार विस्तार आयोजना शुरु भएको छ ।
 
    खानेपानी क्षेत्रमा देशमा सञ्चालित मेलम्ची पछिको दोस्रो ठूलो आयोजनाको रूपमा लिइएको खानेपानी संस्थानअन्तर्गत सञ्चालन हुने सो आयोजनाअन्तर्गत पोखराबाट १२ किमीको दूरीमा रहेको मर्दी मुहानबाट ल्याइएको पानी प्रशोधन गरी शुद्धीकरण गरेर पिउन योग्य बनाउने लक्ष्य राखिएको छ । 

    सो प्रयोजनका लागि पानी प्रशोधन केन्द्र निर्माण तथा दुई हजार घनमिटर क्षमताका तीन वटा ट्याङकी निर्माण गरी नगरका विभिन्न क्षेत्रमा पाइप लाइनमार्फत विस्तार गर्ने योजना रहेको छ । आयोजनाको पोखरा महानगरपालिका–१९ पुरुनचौरमा आयोजित एक कार्यक्रमबीच सङ्घीय सरकारका खानेपानी मन्त्री बिना मगरले  शिलान्यास गरिन् । 

  विप्रेषण आयातमा छलाङ 
कुनै समय विदेशबाट नेपालमा पैसा भित्र्याउने कुरा असम्भव जस्तै थियो । बैंकबाट लामो प्रक्रिया पु¥याएर पैसा पठाउने कुरा सामान्य मानिसका लागि सहज पक्कै थिएन । वैदेशिक रोजगारीमा गएकाले घरमा रहेका आफन्तलाई पैसा पठाउने कुरा पनि करीब–करीब असम्भव जस्तै थियो । अवैधरूपमा हुण्डीको कारोबार फस्टाउँदा कालो धनको कारोबार पनि मौलाएको थियो । जसका कारण राज्यले प्राप्त गर्ने राजश्वसमेत गुमेको थियो । 

    नेपाल राष्ट्र बैंकले २० वर्ष पहिले गरेको सामान्य नीतिगत निर्णयका कारण आज वैधानिक रूपमा विप्रेषण भित्रिएको मात्रै छैन । विदेशमा श्रम गर्न गएका नेपालीले पठाएको रकम सहजरूपमा आफ्ना आफन्तले एकाध मिनेटमा नै पाउने वातावरणसमेत बनेको छ ।
 
    केन्द्रीय बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको नौ महिनाको आर्थिक विवरणमा रु छ खर्ब ५३ अर्ब १९ करोड विप्रेषण भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.६ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा रु सात खर्ब ५५ अर्ब ६ करोड बराबरको विप्रेषण आएको थियो । विप्रेषण आयातमा प्रत्येक वर्ष वृद्धि भइरहेको छ । वैदेशिक रोजगारीको खोजीमा विदेशिएका युवाले पठाएको रकमले देशको अर्थतन्त्रलाई सबल बनाउन मात्रै मद्दत गरेको छैन, आर्थिक रूपमा पछाडि परेका नागरिकको जीवनस्तर सुधार गर्नसमेत मद्दत पुगेको छ ।

केसीलाई रु एक लाखसहित सम्मान 

    
भारतीय टेलिभिजन जी टिभीको रियालिटी सो सारेगमपमा चौँथो हुन सफल कक्षा ८ मा अध्ययनरत् विद्यार्थी आयुष केसीलाई रु एक लाखसहित सम्मान गरिएको छ ।
 
    सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित मोर्डन स्कूलले आयोजना गरेको सम्मान कार्यक्रममा स्कूलका प्रमुख बाबुकाजी कसपाल, प्राचार्य अनिल कसपालले रु एक लाखसहित सम्मान गरे ।

    निगमको उडानबारे मन्त्रालय बेखबर 

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महीनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ–ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो ।

तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकुल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौँ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ । 

    पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । 

महासङ्घद्वारा तेस्रो चरणको आन्दोलन घोषणा

    नेपाल पत्रकार महासङ्घले सरकारले संसद्मा दर्ता गराएको मिडिया काउन्सिल विधेयक फिर्ता लिन माग राख्दै तेस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । 

मंगलबार बसेको केन्द्रीय समितिको बैठकले गत वैशाख २९ देखि यही जेठ २५ गतेसम्म दुई चरणमा गरिएको आन्दोलन पूर्ण रूपमा सफल भएको निष्कर्ष निकाल्दै आगामी असार ३ गतेदेखि विधेयक फिर्ताको माग राख्दै आन्दोलन घोषणा गरेको महासङ्घका महासचिव रमेश विष्टले जानकारी दिए । 

    बैठकले असार ३ गते प्रेस स्वतन्त्रताको पक्षमा देशव्यापी हस्ताक्षर सङ्कलन अभियान गर्ने, असार ६ गते सङ्कलित हस्ताक्षर जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई बुझाउने, असार १० गते मिडिया काउन्सिल विधेयक विरुद्ध काटुन प्रदर्शनी गर्ने, असार १५ गते सबै जिल्ला शाखाले आफ्नो क्षेत्रबाट निर्वाचित सङ्घीय र प्रदेश सांसदलाई  सन्देश पठाएर ध्यानाकर्षण गर्ने रहेको छ । 

    यस्तै असार २० गते वृहत ‘प्रेस स्वतन्त्रता सभा’को आयोजना गर्ने, असार २५ गते मध्यान्ह् १२ः०० बजे लालटिन जुलुस र असार ३० गते देशव्यापी सिटी जुलुस र सभा गर्ने कार्यक्रम तय गरिएको छ । बैठकले महासङ्घले मिडिया काउन्सिल विधेयकमा भएका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने प्रावधान अविलम्ब फिर्ता लिन सरकारसँग पुनः जोडदार मागसमेत गरेको छ । 

तेजाब प्रहार गर्नेलाई चार वर्ष कैद 

    दाङमा किशोरीमाथि एसिड प्रहार गर्ने एक व्यक्तिलाई चारवर्ष कैद फैसला गरिएको छ । घोराही उपमहानगरपालिका–१७ कि २२ वर्षीया रीता चौधरीमाथि एसिड प्रहार गर्ने नेपालगञ्ज उपमहानगरपालिका–६ का ३७ वर्षीय बद्रिविशाल मिश्रलाई चार वर्ष कैदको फैसला सुनाइएको हो ।

    जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले रीतामाथि एसिड प्रहार कसुरमा दोषी ठहर गर्दै मिश्रलाई चार वर्ष कैद, रु एक लाख जरिवाना र पीडितलाई रु एक लाख ४५ हजार क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने फैसला गरेको हो । अदालतले जरिवाना स्वरूपको रु एक लाख पनि पीडितलाई नै उपलब्ध गराउने फैसला गरेको श्रेस्तेदार धनीप्रसाद चपार्इंले जानकारी दिए । 

    उक्त घटनाका अन्य आरोपित घोराही–१७ का २० वर्षीय विष्णु चौधरी र २८ वर्षीय सुनिल चौधरीलाई भने अदालतले सफाइ दिएको छ । विसं २०७२ फागुन २७ गते साँझ पसलमै बसेका बेला रीतामाथि एसिड प्रहार गरिएको थियो । एसिड प्रहारबाट पीडितको छाती तथा घाँटीको भाग जलेको थियो ।

दार्चुलामा शौचालय भत्किँदा चार बालबालिकाको मृत्यु 
दार्चुलामा शौचालय भत्किँदा ४ जना बालबालिकाको मृत्यु भएको छ ।
नौगाड गाउँपालिका ४ सिप्टीमा स्थानीय गणेश विनायक माविको शौचालयको छाना भत्किँदा ४ बालबालिकाको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक हिक्मत बोहराले बताएका छन् ।
दार्चुला प्रहरीको सूचना अधिकारी समेत रहेका बोहोराले आफू घटनास्थलतर्फ जाँदै गरेको बताए । उनका अनुसार मृत्यु हुनेमा तीन बालिका र एक बालक रहेका छन् ।

उनका अनुसार नौगाड गाउँपालिका–४ का ९ वर्षीय निरुता ठगुन्ना, १० वर्षीय अनुस्का धामी, ५ वर्षीय युनिका ठगुन्ना, ८ वर्षीय सुदिप धामीको मृत्यु भएको हो ।

मंगलबार साँझ ४ बजेतिर विद्यालय बन्द रहेको समयमा खेलिरहेका करिब ८–९ वर्षीय ४ बालबालिका छाना भत्किँदा पुरिएका हुन् ।

सिप्टी प्रहरी चौकीबाट खटिएको प्रहरी टोली तथा स्थानीयहरुको संयुक्त प्रयासमा मृतक बालबालिकाको शव भने निकालिसकिएको बोहोराले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्