
काठमाडौं– सगरमाथा आरोहण गर्न जानेहरूको संख्या अत्यधिक रहेको र ट्राफिक जाम भएका कारण आरोहीको मृत्यु नभएको पर्यटन विभागले जानकारी दिएको छ ।
बुधवार एक विज्ञप्ति जारी गर्दै पर्यटन विभागले सोबारे जानकारी गराएको हो । विभिन्न सञ्चारमाध्यममा सगरमाथा आरोहणका लागि अत्यधिक अनुमति दिएको र ट्राफिक जामका कारण आरोहीको मृत्यु भएको खबर प्रकाशित भएकोप्रति आफूहरूको ध्यानाकर्षण भएको विभागको भनाइ छ ।
यस वर्ष वसन्तकालीन मौसममा पवर्तारोहीको संख्या ३ सय ८१ जना रहेको र यो संख्या गत वर्षको भन्दा ३५ जना मात्रै बढी रहेकाले ट्राफिक जाम नभएको विभागको भनाइ छ ।
विभागका अनुसार यसवर्ष सगरमाथा आरोहणका लागि ४४ आरोहण दललाई अनुमति दिइएको थियो । ४४ आरोहण दलमा ३ सय ८१ जना आरोही र ३ सय ७८ जना सहयोगीहरू ६ सय ५९ जना उक्त मौसममा सगरमाथा आरोहण गर्न गएका विभागले जानकारी दिएको छ । मृत्यु तथा हराउनेको कारण प्रतिकूल मौसम तथा मौसमको सीमित अनुकूलता हुन सक्ने विभागको भनाइ छ । त्यस्तै सगरमथा आरोहणका सम्बन्धमा नीतिगत सुधारका लागि आवश्यक सुझाव दिन पर्यटन मन्त्रालयले समितिसमेत गठन गरिसकेको विभागले जानकारी गरायो ।
हेर्नुहोस् विज्ञप्ति :
