
चितवन – पूर्व अर्थमन्त्री डा. रामशरण महतले कृत्रिमरुपमा बजेटको आकार ठूलो पारिएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।
चितवनमा शुक्रवार पत्रकारसँग कुराकानी गर्दै उनले ऋण लिएर बजेटको आकार बढाइएको बताए ।
एकतिहाइ हिस्सा ऋणका आधारमा रकम जम्मा गर्ने गरी ल्याइएको बजेटले देशमा वित्तीय संकट ल्याउने उनको भनाइ थियो । डा. महतले भने, ‘जीडीपीको करीब १५ प्रतिशत १ वर्षमा ऋण लिन सरकारले प्रस्ताव गरेको छ यसले देशमा वित्तीय संकट ल्याउँछ, महँगी बढाउँछ ।’ आन्तरिक र बाह्य गरी इतिहासकै ठूलो ऋण लिएको उनको भनाइ थियो ।
वर्तमान सरकारप्रति सर्वसाधारण र वौद्धिक वर्ग निराश भएसँगै कांग्रेसप्रतिको लहर बढेर गएको उनले दाबी गरे । कांग्रेसभित्रको गुट अन्त्य गरी पार्टीलाई संगठित बनाएर लैजानुपर्ने उनको भनाइ थियो । मानव अधिकार, संक्रमणकालीन न्याय लगायतका ल्याउन लागिएका विधेयकका विषयमा अन्तर्राष्ट्रिय जगत्को ध्यानाकर्षण भएको उनको भनाइ थियो ।