०१ साउन २०८३, शुक्रबार

अरूको औंठाछाप प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता कुम्ल्याउने विरुद्ध मुद्दा

अरूको औंठाछाप प्रयोग गरेर सामाजिक सुरक्षा भत्ता कुम्ल्याउने विरुद्ध मुद्दा

काठमाडौँ - सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको साविक भसेढवा गाविसका तत्कालीन प्राविधिक सहायकसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार तत्कालीन प्राविधिक सहायक खखिलेन्द्रकुमार यादवले रु ३३ लाख २४ हजार ३९१ बराबरको भ्रष्टाचार गरेको अनुसन्धानबाट खुलेको छ । यस्तै तत्कालीन गाविस सचिव जवाहरलाल झाले रु पाँच लाख ८१ हजार ३८५ र अर्का साविकका गाविस सचिव जयचन्द्रप्रसाद जसवालले रु दुई लाख ७१ हजार ८७५ बराबरको भ्रष्टाचार गरेको आरोप लागेको छ ।

सरकारी स्रोतबाट प्राप्त भएको रकम खर्च गर्दा न्यूनतम रुपमा अवलम्बन गर्नुपर्ने विधिसमेत अवलम्बन नगरेको, सामाजिक सुरक्षा भक्ताबापतको रकम आफ्नै वा अरु कसैको औँठाछाप प्रयोग गरी आफँैले बुझेको पाइएको छ ।

साविक भसेढवा गाविसको चालू तथा पूँजीगत खर्च हिनामिना गरेको पाइएकाले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरिएको आयोगले जनाएको छ ।

यस्तै आयोगले सत्ति भन्सार कार्यालय टीकापुरमा कार्यरत नायब सुब्बा दुर्गादत्त भट्टसमेत दुई जनाविरुद्ध विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

सो भन्सार कार्यालयका एजेन्टका सहयोगी रामबहादुर साउदले भारतबाट समान ल्याउने नेपाली व्यापारीको पूर्ण भन्सार काटी सोको रसिद उपलब्ध गराइसकेपछि भन्सार छुट गराइदिएको भनी सेवाग्राहीसँग रु १५ हजार घुस मागेको पाइएको छ ।

आयोगका अनुसार नायब सुब्बा भट्टले पदीय दायित्व र जिम्मेवारी पूरा नगरेको पाइएको छ । यस्तै लागुऔषध मुद्दामा थुनामा परेका व्यक्तिको मुद्दा मिलाइदिने भन्दै अनुसन्धान अधिकृतलाई रु १० हजार घुस दिन खोजेको अभियोगमा व्यवसायी अभिषेक कार्कीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।

लागुऔषध मुद्दामा थुनामा रहेका पुजन बम ठकुरी र अनुसन्धानमा रहेका धमेन्द्र लिम्बूको मुद्दालाई मिलाइदिने भन्दै घुस दिन खोजेको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्