०१ साउन २०८३, शुक्रबार

महावाणिज्यदूत अर्याल कोलकाता पोर्ट ट्रस्टबाट सम्मानित

महावाणिज्यदूत अर्याल कोलकाता पोर्ट ट्रस्टबाट सम्मानित

काठमाडौं- कोलकातास्थित नेपाली महावाणिज्यदूत एकनारायण अर्याल कोलकाता पोर्ट ट्रस्टबाट सम्मानित भएका छन् ।

नेपाल–भारत पारवहन क्षेत्रमा उल्लेखनीय काम गरेबापत भारत सरकारको कोलकाता पोर्ट ट्रस्टले अर्याललाई सम्मान गरेको हो । यो उच्च स्तरको सम्मान हो र यस्तो सम्मान पाउने अर्याल सम्भवतः पहिलो नेपाली महावाणिज्यदूत हुन् ।

कोलकाता पोर्ट ट्रस्टको वार्षिकोत्सवको अवसर पारेर शनिवार अर्याललाई सम्मान गरिएको हो । भारत–नेपाल व्यापार तथा पारवहन क्षेत्रलाई मजबुत बनाउन उदाहरणीय काम गरेबापत अर्याललाई सम्मान गरिएको उनलाई दिइएको सम्मान पत्रमा उल्लेख छ । 

निर्विवादित एवं इमान्दार छविका प्रशासकका रूपमा चिनिने अर्यालले महावाणिज्यदूत बनेर कोलकाता गएदेखि व्यापार तथा पारवहन क्षेत्रमा सुधारका थुप्रै कदम चालेका छन् ।

अर्यालले झन्झटिलो कागजी प्रक्रिया विस्थापित गर्दै इलेक्ट्रोनिक कार्गो ट्रयाकिङ्ग सिस्टम लागू गरेका छन् । त्यस्तै नेपाली कन्टेनर राख्ने छुट्टै ठाउँ निर्माण प्रक्रिया शुरू भइसकेको छ । 

नेपालबाट दैनिक करीब साढे दुई सय कार्गो कन्टेनर कोलकाता पुग्ने गर्छन् । त्यहाँ पुगेर एक दिन ढिलाइ हुँदा एउटा कन्टेनरले दैनिक ६ हजार भारतीय रुपैयाँ बुझाउनु पर्ने बाध्यता थियो । अर्यालले त्यस्तो शुल्क अब बुझाउन नपर्ने निर्णय गराएका छन्, जसले यातायात खर्च कटौतीमा उल्लेखनीय सहयोग पुर्‍याएको छ ।

सम्मान वितरण कार्यक्रममा उपस्थित कोलकाता र आसपासका सरकारी एवं गैर सरकारी क्षेत्रको प्रतिनिधित्व गर्ने उच्च पदस्थ व्यक्तिले अर्यालको कार्यशैली र उनले चालेका सुधारका कदम र त्यसको दुरगामी प्रभावको खुलेर प्रशंसा गरेका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्