०१ साउन २०८३, शुक्रबार

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जनाको मृत्यु

सिरियामा क्षेप्यास्त्र प्रहार, १२ जनाको मृत्यु

दमास्कस- सिरियाको उत्तरपश्चिमी एक गाउँमा विद्रोही लडाकूहरूले आइतवार गरेको क्षेप्यास्त्र प्रहारबाट कम्तीमा १२ जना सर्वसाधारणको मृत्यु भएको छ ।

सिरियाली सरकारी समाचार संस्था (साना) का अनुसार अल–कायदा सम्बद्ध हायात तहरिर अल–शामले उक्त आक्रमण गरेको हो । अलेप्पो शहरको दक्षिणमा रहेको अल–वादिही गाउँमा गरिएको क्षेप्यास्त्र आक्रमणबाट अरू १५ जना घाइते भएका छन् ।

घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ । मानव अधिकारका लागि सिरियाली अब्जरभेटरीले पनि गाउँलेहरूको हत्या भएको जनाउँदै आक्रमणबाट पाँच जना बालबालिका पनि मारिएको बताएको छ । अलेप्पोको ग्रामीण इलाकामा लुकेर बसेका विद्रोहीले नै आक्रमण गरेको अब्जरभेटरीले जनाएको छ ।

अलेप्पोसँग सीमा जोडिएको हामा प्रान्तको ग्रामीण इलाकामा पनि सरकारी फौज र विद्रोहीबीच संघर्ष जारी छ । यहाँ शनिवार भएको भिडन्तमा ३५ जना लडाकू मारिएका थिए ।

अलेप्पो, हामा र इडलिब प्रान्तलाई विद्रोही र सरकारी फौजबीच मध्यवर्ती क्षेत्रका रूपमा राख्न रुस, सिरिया र टर्कीबीच गएको सेप्टेम्बर महिनामा सहमति भएको थियो । तर यस सम्झौताको पूर्ण पालना भएको छैन । विद्रोहीहरूले तोकिएको क्षेत्रबाट हातहतियार फिर्ता लैजान अस्वीकार गरेका छन् । सन् २०११ देखि शुरू भएको सिरियाको गृहयुद्धका कारण तीन लाख ७० हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

salt training

कमेन्ट गर्नुहोस्