
काठमाडौ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद कुमारी तुलसी थापाले गुठी सम्बन्धी विधेयक र मिडिया काउन्सिल विधेयकबारे सार्वजनिक छलफल चलाएर निष्कर्षमा पुग्न सरकारलाई सुझाव दिएकी छन् । यसो गर्दा उद्देश्यमुलक ढंगले भड्काउन चाहनेले मौका नपाउने उनको भनाइ छ ।
‘अहिले चारैतिर गुठी सम्बन्धी र मिडिया काउन्सिल विधेयकको पक्ष र विपक्षमा राष्ट्रव्यापी छलफलमा विवाद नै चलेको छ, मेरो विचारमा यो विवादलाई सरकारले सकारात्मक रूपमा लिनुपर्छ,’ सोमवार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा नेकपा सांसद थापाले भनिन्, ‘वास्तवमा यतिधेरै जनसमुदाय तरंगित हुनुपर्ने विषयमा औपचारिक रूपमा सार्वजनिक छलफल चलाएर नै निष्कर्षमा पुग्नु वेश हुन्छ ।’
उनले गुठीको जग्गा रैकरमा लैजानुभन्दा, पहिला सरकारले सम्बन्धित मठ मन्दिर र आश्रमको नाममा रहेको जग्गाको न्यूनतम मूल्य सरकारी बैंकमा डिपोजिट गर्नु उपयुक्त हुने बताइन् ।
‘यसो गर्दा उद्देश्यमुलक ढंगले भड्काउन चाहनेले मौका पाउने थिएनन् । त्यस्तै मिडिया काउन्सिल विधेयक पनि सम्बन्धित संस्थासँग छलफल गरेर संसदमा पेश गर्नु वेश हुन्छ,’ सांसद थापाले भनिन् ।