
काठमाडौं – विश्वकप क्रिकेटको मध्यभागतिर पुग्दा सबै टोली आफ्ना बाँकी खेलहरू जित्ने दाउमा छन् ।
यसैक्रममा सोमवार टाउन्टनमा बंगलादेश र वस्ट इन्डीज भिड्दैछन् । यी दुवैले अझै पाँच खेल खेल्न बाँकी छ । आजको खेल हार्ने टोलीले सेमिफाइनल पुग्ने आशा लगभग त्याग्नुपर्ने हुन्छ । दुवैका लागि आजको म्याच गर वा मरको स्थितिमा छ ।
सेमिफाइनलमा इंग्ल्यान्ड, भारत, अस्ट्रेलिया र न्युजील्यान्डले आफ्नो दाबेदारी बलियो गरी राखेकाले अरू टीमलाई निकै गाह्रो छ । वेस्ट इन्डीज र बंगलादेश दुवैले दुई दुई खेल हारिसकेका छन् र एक एकवटा खेल पानीले हुनै दिएको छैन । बंगलादेशले भारत र अस्ट्रेलियाको सामना गर्न बाँकी नै छ भने वेस्ट इन्डीजले न्युजील्यान्डसँग भिड्नु नै छ । त्यसैले दुवैका लागि आजको खेल महत्त्वपूर्ण छ ।
आरम्भिक खेलमा राम्रो प्रदर्शन गरेका दुवै टोलीले त्यसपछि भने निराश गरेका छन् । दक्षिण अफ्रिकालाई हराएर आत्मविश्वास बटुलेको बंगलादेश न्युजील्यान्डसँग हार्न पुग्यो अनि इंग्ल्यान्डले उनीहरूको बेइज्जती नै गरिदियो । श्रीलंकासँगको खेल वर्षाले हुन दिएन ।
वेस्ट इन्डीजले चाहिँ पाकिस्तानलाई ध्वस्त बनायो अनि अस्ट्रेलियासँग हार्यो । श्रीलंकासँगको खेल वर्षाले हुन दिएन भने इंग्ल्यान्डले उनीहरूलाई ध्वस्त बनाइदियो । त्यसैले राम्रो शुरूआत गरेर दुवै टीम चिप्लिए ।
तर वेस्ट इन्डीजविरुद्धका विगत १२ महिनाका नौ खेलमा सात खेल बंगलादेशले जितेको छ । त्यसैले उसको आत्मविश्वास उच्च छ । यीमध्ये अन्तिम तीन जीत विश्वकपअघिको त्रिपक्षीय शृंखलामा आएको थियो । तर त्यतिखेर वेस्ट इन्डीजमा क्रिस गेल, निकोलस पूरन र आन्द्रे रसेल थिएनन् । यी तीन खेलाडीले आफूहरू निकै खतरनाक रहेको देखाएका छन् ।
बंगलादेशका कप्तान मशरफे मुर्तजाले विश्वकपमा राम्रो बलिङ नगरेको भनी आलोचना भइरहेको छ । तर वेस्ट इन्डीजविरुद्ध उनले नौ खेलमा २० को औसतले १९ विकेट लिए ।
तमिम इकबालले विश्वकपमा सुस्त शुरूआत गरेका छन् । तर वेस्ट इन्डीजविरुद्धका खेलमा उनले दुई शतक र चार अर्धशतक बनाएका छन् । मोर्तजा र तमिमले राम्रो प्रदर्शन गरेमा बंगलादेशले सेमिफाइनलमा स्थान पक्का गर्नेछ ।
टाउन्टनमा गत साता पानी परिरहेर खेलहरू हुन पाएका थिएनन् । तर अब मौसम सुध्रिने लक्षण देखिएको छ । आज टाउन्टनमा घाम लाग्ने सम्भावना छ । यहाँको पिचले तीव्र गतिका बलरलाई सहज हुने देखिन्छ तर बाउन्ड्रीहरू छोटा भएकाले ब्याट्स्म्यान पनि प्रेरित हुने देखिन्छ ।
बंगलादेशका मुशफिकर रहिमले नेटमा ब्याटिङ गर्दा चोट लगाए तर उनको हाडमा फ्र्याक्चर देखिएन । त्यसैल् उनले खेल्ने सम्भावना छ । उनले खेलेनन् भने लिटोन दासले विकेटकीपिङ गर्नेछन् । तीव्र गतिका बलर रुबेल होसेनलाई टाउन्टनमा अवसर दिन सकिन्छ । त्यसो हो भने मेहिदी हसनले खेल्न नपाउने हुन सक्छ ।
वेस्ट इन्डीजको कुरा गर्दा आन्द्रे रसेलको घुँडामा समस्या आइरहँदा टीम चिन्तामा पर्ने गर्छ । उनी फिट भएमा टीमका लागि विस्फोटक ब्याटिङ गर्छन् । उनले शायद बलिङ चाहिँ नगर्लान् । एश्ले नर्सलाई इंग्लयान्डविरुद्धको खेलमा खेलाइएको थिएन तर आजको खेलमा समावेश गर्न सकिन्छ ।
एजेन्सी