
काठमाडौं – संवैधानिक व्यवस्था एवं समावेशिताको सिद्धान्तअनुसार लोकसेवा आयोगले स्थानीय तहमा आवश्यक कर्मचारीको विज्ञापन नगरेकाले सच्याउन सांसदहरूले माग गरेका छन् ।
प्रतिनिधि सभाको सोमवारको बैठकको शून्य समयमा बोल्दै उनीहरूले राज्यव्यवस्था तथा सुशासन समितिको निर्देशन पालना गराउन पनि जोड दिए ।
सांसद उमाशंकर अरगरिया, कलिला खातुन, गंगा चौधरी सत्गौवा, चाँदतारा कुमारी, चन्द्रकान्त चौधरी लगायतले यस्तो माग गरेका हुन् ।
सांसद खगराज अधिकारी र खेमप्रसाद लोहनीले गुठी विधेयक बाहिर चर्चा गरिएजस्तो धर्म र संस्कृति विरोधी नभएको बताए । सांसद गणेशकुमार पहाडीले सिन्धुलीको कमलामाईलगायत स्थानमा हात्तीले धनजनको क्षति पर्याएकाले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे ।
सांसद गौरीशंकर चौधरीले नदीबाट गिट्टी बालुवा पूर्णरुपमा निषेध गरिँदा विकास निर्माणमा असर परेको बताए । अर्का सांसद घनश्याम खतिवडाले उत्खनन् गरिसकेका खोलामा अब ठेक्का नलगाउने व्यवस्था मिलाउन र मापदण्ड तोकेर मात्र नदीको उत्खनन् गरिनुपर्नेमा जोड दिए ।
सांसद जुलीकुमारी महतोले गुठी विधेयकले धर्म र संस्कृतिलाई सभ्य बनाउन खोजेको बताए । जनकपुरको गुठीमा धेरै अव्यवस्था रहेकाले त्यसको व्यवस्थापन गर्न विधेयक ल्याइएको उनको भनाइ थियोे ।