०५ साउन २०८३, मंगलबार

महाकालीमा पानीको बहाव बढ्दा तारउतार सेवा बन्द

महाकालीमा पानीको बहाव बढ्दा तारउतार सेवा बन्द
प्रतिकात्मक तस्वीर

डडेल्धुरा – जिल्लाको परशुराम नगरपालिका–६ सिसमजालामा सञ्चालित तारउतार (डुंगा, ट्युब) सेवा बन्द गरिएको छ । 

महाकाली नदीमा पानीको बहाव बढ्न थालेपछि वडा कार्यालयद्वारा सञ्चालित तारउतार सेवा असोजसम्मका लागि बन्द गरिएको सो कार्यालयले जनाएको छ ।

परशुरामको सिसमजालास्थित नेपाल–भारत आवतजावत गर्न प्रयोग गरिने तारउतार सेवा बर्खायाम शुरू भएसँगै बन्द गर्ने निर्णय गरिएको वडाध्यक्ष खगेन्द्रबहादुर सिंहले बताए ।

सो नाकाबाट दैनिक सयौंको संख्यामा यस क्षेत्रका नागरिक भारतबाट सामान आयात निर्यात गर्ने गर्दछन् । वर्षायाममा पानीको बहाव बढ्ने भएकाले दैनिक उपभोग्य सामग्री लिन भारततर्फ जाने नागरिकका लागि यात्रा खतरा हुने भन्दै सो तारउतार सेवा बन्द गरिएको वडा कार्यालयले जनाएको हो । 

वर्षाैदेखि महाकाली नदीमा पक्की पुल निर्माण गर्न विभिन्न राजनीतिक दलहरुले मुख्य एजेण्डाका रुपमै उठाएपनि अहिलेसम्म कुनै पहल नहुँदा यहाँ नागरिक जोखिम मोलेर भएपनि बर्खायाममा डुंगा तथा ट्युबमा यात्रा गर्न बाध्य छन् । 

तारउतार सेवा बन्द गरेसँगै वडाध्यक्ष सिंहले सिसमनजालामा झोलुङ्गे पुलका लागि पहल गर्ने जनाएका छन् । सशस्त्र द्वन्द्वका क्रममा विस्थापित छोटी भन्सार कार्यालय हालसम्म पुनःस्थापना हुन नसक्दा भित्री मधेश क्षेत्रबाट बर्सेनि करोडौं राजस्व छली हुने गरेको छ । 

सीमावर्ती भारतीय बजार टनकपुरबाट दिनहुँ लाखौं मूल्य बराबरका भारतीय सामान विनाभन्सार भित्रिँदा राजस्व छलीसमेत हुने गरेको सरोकारवालाहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्