२३ जेठ २०८३, शनिबार
क्षेत्रीय राजनीति

चीनसँग मोदीको सम्बन्धले कोर्नेछ दक्षिण एसियाको भाग्यरेखा

चीनसँग मोदीको सम्बन्धले कोर्नेछ दक्षिण एसियाको भाग्यरेखा

चिनियाँ विश्लेषकहरूले नरेन्द्र मोदी पुनः प्रधानमन्त्रीका रूपमा निर्वाचित हुने कुरा चुनावअघि नै बताइसकेका थिए । तर उनीहरूलाई मोदीले पहिलेको भन्दा पनि बढी बहुमत ल्याउलान् भन्ने चाहिँ लागेको थिएन । 

भारतीय सञ्चारमाध्यममा प्रकाशित रिपोर्ट पढेपछि र भारतीय पाहुनाहरूसँगको कुराकानीपछि धेरैजसोले मोदी कम सीट जितेर सत्तामा फर्किनेछन् र उनी गठबन्धनको सरकार चलाउन बाध्य हुनेछन् भनी निष्कर्ष निकालेका थिए ।

यसको अर्थ मोदीले पहिलो कार्यकालमा जस्तो स्वतन्त्र रूपमा शासन चलाउन तथा परराष्ट्रनीति निर्धारण गर्न पाउने छैनन् भन्ने हुन्थ्यो । 

तर मोदीले अपेक्षा गरेभन्दा बढी सीट ल्याए र बलियो सरकार बनाए । अब चिनियाँहरू मोदीको दोस्रो कार्यकालबाट कस्तो अपेक्षा राख्छन् त ? 

भारत र चीनको सम्बन्ध मोदीको पहिलो कार्यकालमा उतारचढावपूर्ण रह्यो । व्यापारिक बुद्धि भएका मोदीले व्यावहारिक हुँदै चीनसँग आर्थिक सम्बन्ध विस्तार गर्लान् भन्ने अपेक्षा चिनियाँहरूले लिएका थिए । तर उनले आफ्नो शपथग्रहण समारोहमा तिब्बती प्रतिनिधि तथा ताइवानका प्रमुख कूटनीतिक प्रतिनिधिलाई निम्त्याए, चीनको पेटी सडक परियोजनाप्रतिको विरोध झनै चर्काए र चिनियाँ राष्ट्रपति शी चिनफिङलाई आफ्नै गृहराज्य गुजरातमा निमन्त्रण गरेको भए पनि अमेरिकासँग थप घनीभूत सम्बन्ध बनाउने प्रयास गरे । 

चीनले आणविक आपूर्तिकर्ता समूहमा भारतको सदस्यता रोक्नेदेखि पाकिस्तानमा रहेका आतंकवादीहरूलाई वैश्विक आतंकवादी घोषणा गर्न नदिने अनि दोक्लममा सैनिक आमनेसामने हुने स्थितिसम्म पुग्दा भारत र चीनको सम्बन्ध निकै चिसियो । तर सन् २०१८ मा चीनको वुहानमा मोदी र शीबीचको शिखरवार्ताले सम्बन्ध सामान्य बनाउने प्रयास गर्‍यो । वुहान सम्मेलन पनि बाह्य परिस्थितिले गर्दा सम्भव भएको थियो । मोदीलाई विधानसभा र  लोकसभा निर्वाचनमा ध्यान दिनुपर्ने थियो भने शीलाई अमेरिकीहरूसँगको व्यापारयुद्धका लागि तयार हुनुपर्ने थियो । 

सन् २०१७ मा शी अनि यो वर्ष मोदी दोस्रो कार्यकालका लागि थप बलियो राजनीतिक प्रभावका साथ फर्किएका छन् । तर वुहानको मर्म तथा यसै वर्ष बनारसमा अर्को अनौपचारिक सम्मेलनको सम्भावनाका बावजूद भारत र चीनबीचको सम्बन्ध सुधारियो भनिहाल्न मिल्दैन । 

परिवर्तनसँगै निरन्तरता
यी दुई देशको सम्बन्धमा कायम पुराना समस्याहरू निरन्तर रहने सम्भावना छ । सीमा विवाद, चीनले पाकिस्तानप्रति देखाएको ममता, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्नका लागि भारतले देखाएको इच्छामा चीनको अनिच्छा लगायतका विषय अझै कायम छन् । दुवै नेताहरू आवश्यक सम्झौताका लागि लचिलो हुने खालका देखिँदैनन् । झन् सीमा विवाद सुल्झाउनका लागि देशको नक्सामा परिवर्तन गर्ने कुरा त उनीहरू दुवैजनाबाट सम्भव छैन । त्यसमाथि चीनले दक्षिण एसियामा विस्तार गरेको राजनीतिक तथा आर्थिक प्रभाव र अमेरिकातर्फ भारतको बढ्दो ढल्काइले चीन र भारतको सम्बन्धमा थप असर पार्ने सम्भावना छ । 

यी दुई देशले आफूहरू एकअर्काप्रति जोखिमका रूपमा नरहेको देखाउने खोजेका छन् भने केही वैश्विक मामिलामा समान धारणा राखेको र द्विपक्षीय सम्बन्धका ठूला समस्यालाई थाती राख्न सहमत भएको देखिन्छ । त्यसैले चिनियाँ र भारतीयहरू दुवैले किर्गिजस्तानको राजधानी बिश्केकमा आयोजित शांघाई सहयोग संगठन (एससीओ) मा व्यापार संरक्षणवादविरुद्ध विचार दिएका छन् । 

एससीओ घोषणाले ‘बहुपक्षीय व्यापार प्रणालीलाई मजबूत बनाउन तथा वैश्विक व्यापारको विखण्डन र सबै किसिमका व्यापार संरक्षणवाद’ विरुद्ध ‘वैश्विक आर्थिक शासनको संरचनामा सुधार’ का लागि आह्वान गरेको भए पनि चीन आफैं चाहिँ यी सिद्धान्तको पालन गरिरहेको छैन । 

भारतको आर्थिक बाध्यताका कारण उसले चिनियाँ लगानीको बाटो खोल्न बाध्य हुने अपेक्षा चिनियाँहरूले गरेको भए पनि चीनले भारतीय सामान आयातमा तेर्स्याएको बाधा हटाउनु भारतको चुनौती हो । अनि चीनले भारतमा लगानी गर्दा विशेष व्यवहारको अपेक्षा नगरोस् र भारतीय नियमको पालना गरोस् भन्ने विषयमा पनि भारत सचेत हुन जरूरी छ । भारतमा हुआवेको ५जी नेटवर्कले यस विषयलाई परीक्षण गर्नेछ । 

भारतले चीनविरुद्ध बेहोर्नुपरेको व्यापारघाटा यी दुवैको सम्बन्धको सबभन्दा तीतो पक्ष हो । सन् २०१४ मा शीले दक्षिण एसियामा ३० अर्ब डलर बराबरको चिनियाँ लगानीको प्रतिज्ञा गरेको भए पनि त्यसको कम मात्र रकम भारत पुग्यो । त्यसबाट पाकिस्तान र बंगलादेशले बढी फाइदा उठाए । अन्य विदेशी लगानीकर्ता जस्तै चीन पनि भारतको जटिल जमीन अधिग्रहण प्रक्रिया तथा कमजोर भौतिक संरचना र सडक सम्पर्कका कारण त्यहाँ लगानी गर्न हिचकिचाउँछ ।

अनेकौं चिनियाँ मोबाइल कम्पनीहरूले भारतीय बजारमा कब्जा जमाएको र भारतमा उत्पादन इकाइहरू स्थापना गरेको र स्थानीय रोजगारी सम्भव बनाएको भए पनि यसले गर्दा भारतीय उत्पादकहरू बजारबाटै विस्थापित भएका छन् । त्यसैले भारतीय अर्थतन्त्रका अन्य क्षेत्रका लागि चिनियाँ लगानी दीर्घकालीन समाधान हैन ।

पेटी सडक परियोजना
बीआरआई फोरमलाई दोस्रोपटक बेवास्ता गरेपछि भारतले एससीओ सम्मेलनमा पनि बीआरआईलाई अंगीकार गर्न मानेन र फोरमले ल्याएका सकारात्मक परिणामको प्रशंसा गर्न पनि अस्वीकार गर्‍यो । 

तर व्यापार संरक्षणवादविरुद्ध चीनको अडानलाई समर्थन गरे जस्तै भारतले चीनको नेतृत्वमा बनेका कनेक्टिभिटी पहलहरूप्रति आफ्नो विरोधलाई केही घटाउन खोजेको देखिन्छ । गत साता भारतले चीनको युन्नानमा भएको बीसीआईएम क्षेत्रीय सहयोग फोरमको सम्मेलनमा आफ्ना प्रतिनिधिहरू पठायो । उक्त फोरममा बंगलादेश, चीन, भारत र म्यान्मार सदस्य छन् । 

शीले एससीओ सम्मेलनको साइडलाइनमा मोदीसँग भेटघाट गर्दा विशेष गरी बीसीआईएम आर्थिक कोरिडोरको उल्लेख गरे । बीसीआईएम फोरम र आर्थिक कोरिडोर बीआआईभन्दा अघि आएको भए पनि भारत सरकारले चीनको नियतमा शंका गरेकाले यसमा खासै प्रगति भएको छैन । 

तर चीनले यस्तो सञ्जालको उपयोग गरेर आफ्नो हितको प्रवर्द्धन गरिरहेको छ र म्यान्मार तथा बंगलादेशसँग कनेक्टिभिटी परियोजनाहरूलाई अघि बढाएको छ । 

पाकिस्तानीहरूसँगको सम्बन्ध र दक्षिण एसियाका अन्य मुलुकमा आफ्नो बढ्दो उपस्थितिका कारण भारतीयहरू चिन्तित बनेको कुरा चिनियाँहरू बुझ्छन् । तर यसले चिनियाँहरूलाई अघि बढ्नबाट रोक्ने सम्भावना छैन किनकि ताइवान र दलाई लामासँग सम्बन्धित मामिलामा चीनको हितविरुद्धको कदम चाल्नबाट भारतलाई रोक्न सकिनेमा चिनियाँहरू ढुक्क छन् ।

मोदीको दोस्रो कार्यकालमा नयाँ दिल्लीले बीआरआईका विषयमा वक्तव्य जारी गर्ने वा यसलाई पूरै बेवास्ता गर्ने भन्दा एक कदम अघि बढ्नुपर्छ र आफ्ना छिमेकीहरूमाझ तथा अन्यत्र पनि प्रभाव कायम राखिरहन बीआरआईको भरपर्दो विकल्प दिन सक्नुपर्छ । बंगलादेश–भुटान–इन्डिया–नेपाल (बीबीआईएन) पहल र एसिया–अफ्रिका ग्रोथ कोरिडोरमा खासै उल्लेख्य प्रगति भएको पाइँदैन । 

अमेरिकाको भूमिका
दोस्रो कार्यकालको शपथग्रहण समारोहमा मोदीले तिब्बती र ताइवानीहरूलाई निम्तो गरेनन् । तर मोदीले एस जयशंकरलाई परराष्ट्रमन्त्री नियुक्त गर्दा चिनियाँहरू झस्किएका छन् । जयशंकर लामो समयसम्म चीनका लागि राजदूत भए पनि उनी अमेरिकापरस्त र जापानपरस्त मानिन्छन् । चीनको भारतनीति चीन र अमेरिकाबीचको सम्बन्धसँग बलियो गरी जोडिएको छ र भारतले अमेरिकासँग कस्तो अन्तर्क्रिया गर्छ भनी चीनले निकै ध्यानपूर्वक हेरिरहेको छ ।

चिनियाँहरूले अमेरिकासँगको सम्बन्धलाई रणनीतिक प्रतिस्पर्धाका रूपमा हेरिरहेका छन् । इन्डो–प्यासिफिक तथा साउथ चाइना सी र क्वाड वा मालाबार सैन्य अभ्यास जस्ता माध्यमले भारत अमेरिकासँग धेर ननजिकियोस् भन्ने आशा चीनले लिएको छ । 

भारत र चीनबीचको सम्बन्धमा अर्को समस्या भनेका दलाई लामा हुन् । तिब्बती नेता दलाई लामा बितेपछि उनको पुनर्जन्मलाई चीनले निकै ध्यान दिएर हेर्नेछ । यस विषयले पनि दुई देशको सम्बन्धमा अनिश्चितता ल्याएको छ ।

अहिलेका लागि दुवै देशले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आर्थिक स्थितिलाई कसरी व्यवस्थापन गर्छन् भन्ने कुराले द्विपक्षीय सम्बन्धको स्थिरतालाई निर्धारण गर्नेछ । मोदी र शी दुवैलाई के गर्नुपर्ने हो प्रस्टै थाहा छ ।

द वायरमा प्रकाशित जबिन टी जेकबको विश्लेषण

salt training

कमेन्ट गर्नुहोस्