
अछाम – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं नेकपा सुदूरपश्चिम इन्चार्ज भीम रावलले देशलाई थिलथिलो बनाउने काम नेपाली कांग्रेसले गरेको बताएका छन् ।
नेकपा अछामको ढकारी गाउँपालिकामा आयोजित आमसभामा नेता रावलले वर्तमान सरकारले देश विकास र समृद्धिका लागि विभिन्न योजना अघि सारे पनि कांग्रेसले विरोधका लागि विरोध गरिरहेको आरोप लगाए ।
‘विगतमा पटक–पटक बहुमत प्राप्त गरे पनि कांग्रेसले जनताको मतको अपमान गरेको छ,’ उनले भने, ‘कांग्रेस आफ्ना सारा कर्म बिर्सेर नेकपा र सरकारको विरोधमा मात्रै केन्द्रित भएको छ ।’ कम्युनिस्ट सरकारले आफ्नो मूल्य, मान्यता र आदर्शअनुरुप देशको विकास गरिछाड्ने उनको भनाइ थियो ।
व्यक्तिगत लोभ, लालच र क्षणिक स्वार्थमा रही पार्टीलाई आँच आउने कामबाट टाढै रहन उनले कार्यकर्तालाई निर्देशन दिए । ‘विधि र सुशासन विना विकासको कल्पना गर्न सकिँदैन,’ नेता रावलले भने ।
देश र जनताका लागि कम्युनिस्ट सरकारले विगतदेखि नै जनमैत्री कार्यक्रम ल्याएको उनको भनाइ थियो । वृद्धवृद्धालाई भत्ताको व्यवस्थादेखि दलितका छोराछोरीका लागि छात्रवृत्ति कार्यक्रम, गाउँगाउँमा बजेट पठाउनेलगायत कार्य कम्युनिष्टले नै गरेको नेता रावलले बताए ।
विगतमा गाउँमा बजेट पठाउनु हुँदैन भन्ने कांग्रेसले अहिले गाउँमा आएको बजेट आफैं खाउँ भन्ने नीति लिएको आरोप लगाए ।