
काठमाडौं– कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा नक्कली अभियुक्त खडा गरी मुद्दा प्रक्रिया अघि बढाउँदा प्रहरी विवादमा फस्यो ।
सोही कारण प्रहरीविरुद्ध फैजदारी मुद्दा नै दायर भयो ।
तर त्यो घटनापछि पनि प्रहरी अनुसन्धानमा जालझेल रोकिएको छैन ।
सवारी दुर्घटनामा प्रहरीले नक्कली अभियुक्त खडा गरेर वास्तविक दोषीलाई जोगाउँदै आएको खुलेको छ ।
नयाँ पत्रिका दैनिक लेख्छ-
सवारी ज्यान मुद्दामै जालझेल गरेको आरोपमा इलाका प्रहरी कार्यालय गैंडाकोटका इन्स्पेक्टर लोकराज जिसी अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हिरासतमा छन् । १० लाख रुपैयाँ घुस लिएर नक्कली चालक खडा गरी मुद्दा चलाएको पुष्टि भएपछि अख्तियारले उनलाई २१ जेठमा पक्राउ गरेको हो ।
११ वैशाखमा गैंडाकोटमा भएको दुर्घटनामा उनले वास्तविक दोषीलाई उन्मुक्ति दिएका हुन् । चितवनका व्यवसायी बोधराज पाण्डेले चलाएको जिपले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको थियो भने अर्को एक गम्भीर घाइते भएका थिए । चालक पाण्डेलाई जोगाउन त्यतिवेला किसुन चौधरीले गाडी चलाएको नक्कली मुचुल्का बनाएर मुद्दा चलाइएको थियो । यसबापत जिसीले १० लाख घुस लिएको उजुरी अख्तियारमा परेको थियो ।