
जनकपुरधाम – सरकारी स्वामित्वको गुठी संस्थान शाखा कार्यालय जनकपुरधामले प्रत्येक महिना १६ जनालाई जनही ६ सय रुपैयाँका दरले बाँड्ने हण्डी रकममा बेथिति रहेको छ ।
असहाय, दलित, वृद्धलाई हण्डीबापत प्रतिमहिना ६ सय रुपैयाँ दिने गरेको बताएपनि त्यो रकम कसलाई दिइन्छ भनेर खुल्ने विस्तृत तथ्यांक कार्यालयमा भेटिँदैन ।
पछिल्लो २० वर्षदेखि वितरण गर्दै आएको हण्डी रकम प्राप्त गर्ने लाभग्राहीको न त ठेगाना छ, न त उमेरको विस्तृत विवरण । त्यसकारण हण्डी रकम वितरण हुँदा ठोस अभिलेख समेत नराख्ने गरेको गुठी संस्थानबाट हिनामिना गरेको हुन सक्ने आशंका गरिएको छ ।
गुठी संस्थानले असहाय भन्दै भन्नु झा, अनन्तदेवी काफ्ले, रामसुन्दरी दासिन, बैजनाथ गिरी, बिष्णु माया देवी तिमिल्सिना, मन्दिरा पन्थी, गोमा दाहाल, आत्माराम माईराम, हिरा गिरी, धनमाया प्याकुरेल र गंगा गिरीलाई मासिक रुपमा रकम दिने गरेको जनाएको छ । दलितको नाममा मंगलादेवी परियार, वृद्धको नाममा लक्ष्मी गिरी र कृष्ण भारती गिरीलाई पनि मासिक ६ सय रुपैयाँ संस्थानले दिने गरेको छ । हण्डीबापत नै अयोध्या दासलाई पनि पूजा खर्चबापत रकम दिने गरिएको गुठी संस्थान शाखा कार्यालय जनकपुरका लेखापाल रोशन ढुंगानाले बताए ।
संस्थानबाट मासिक रुपमा रकम पाउँदै आएका व्यक्तिको परिचय खुल्ने विवरण, हुण्डी पाउनुपर्ने आधारबारे संस्थानसँग कुनै विस्तृत जानकारी छैन । हुण्डी पाउनेलाई भुक्तानी गरिएको भरपाईमा औंठा छाप लगाइएको भएपनि अन्य विवरण केही पनि उल्लेख गरिएको छैन ।
लाभग्राहीको ठेगाना र उमेर लगायतबारे सोध्दा गुठी संस्थान शाखा कार्यालयका लेखापालदेखि कार्यालय प्रमुख मनोज शर्मासम्म अनुत्तरित छन् । ‘धेरै पहिलेदेखि त्यो हण्डी रकम वितरण हुँदै आएको छ, त्यसबारे विस्तृत जानकारी आफूलाई पनि नरहेको, त्यसबारे लेखापाललाई नै बढी जानकारी होला,’ शाखा प्रमुख शर्माले भने ।
कीर्ते औंठा छाप लगाएर रकम कर्मचारी आफैंले पनि अनियमितता गरेको हुनसक्ने सम्भावनाबारे प्रश्न गर्दा लेखापाल ढुंगानाले भने, ‘२० वर्षभन्दा पहिलेदेखि नै ती मानिसहरूले हण्डीबापत रकम बुझ्दै आएका छन् ।’ ३–३ महिनामा हुण्डी रकम दिएर भरपाई लिने गरिएको भएपनि अन्य थप विवरण नलिइएको उनले बताए ।
एकदमै असहाय, वृद्ध मानिस हुन्छन्, त्यसैले ठेगाना, उमेर, नागरिकताबारे कुनै पनि कागजात वा विवरण नराखिएको उनले बताए । अनियमितता हुन्छ भन्ने आशंका भए अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गर्न सकिने भन्दै लेखापाल ढुंगानाले लोकान्तरसँग भने, ‘संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालयले त हिनामिना वा अनियमितता भनेको छैन ।’ आगामी दिनमा लाभग्राहीबाट विस्तृत विवरण लिने उनले बताए । यसअघि चैतमा रकम बुझिसकेका लाभग्राहीले यसै असार महिना रकम बुझ्ने संस्थानले जनाएको छ ।
लाभग्राही कुनै न कुनै मठ वा मन्दिरमा रहँदै आएको गुठी संस्थान शाखा कार्यालयका प्रमुख शर्माले बताए । गुठी संस्थान प्रधान कार्यालय काठमाडौंले वार्षिक बजेटमा नै प्रत्येक वर्ष हुण्डी रकम विनियोजन गर्दै आएको छ ।