काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीको सम्बोधन स्थगित भएको छ । कांग्रेसले बैठक अवरुद्ध गरेपछि संसदको रोष्टममा उभिएका प्रधानमन्त्री ओली सम्बोधन नगरी फर्किएका थिए ।
प्रधानमन्त्रीभन्दा पहिला आफ्नो पार्टीका संसदीय दलका नेता शेरबहादुर देउवाले सम्बोधन गर्न पाउनुपर्ने माग गर्दै कांग्रेस सांसदहरूले नाराबाजी गरेका थिए ।
सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री बोलेपछि समय दिने आश्वासन दिएपनि कांग्रेस सांसदहरूले पहिले आफ्नो नेता बोल्न पाउनुपर्ने माग गर्दै नाराबाजी कायम राखेपछि सभामुखले संसद बैठक असार ४ गते बुधवारसम्मका लागि स्थगित गरेका छन् ।
सम्बोधन गर्न नपाएका प्रधानमन्त्री रोष्टममा पाँच मिनेट बसेर फर्किएका थिए । रोष्टमबाट फर्केपछि ओलीेले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भलाकुसारी गर्दै संसद बैठकबाट बाहिरिएका थिए ।
सम्बोधनका लागि सदनमा पुगेर प्रधानमन्त्री बोल्न नपाएको यो दुर्लभ संसदीय अभ्यास हो । सत्तारुढ नेकपाले कांग्रेसको शैली गलत भएको प्रतिक्रिया जनाएको छ ।
संसद बैठक स्थगित भएपछि संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले कांग्रेसको शैली गलत भएको टिप्पणी गरे ।
भर्खरै सम्पन्न युरोप भ्रमण र गुठी विधेयक विवादबारे ओलीले सदनमा सम्बोधन गर्न सभामुखसँग समय मागेका थिए । संसद बैठक स्थगित हुँदा विनियोजन विधेयकमाथिको छलफल समेत प्रभावित भएको छ ।