
काठमाडौं – यूईएफएका पूर्व अध्यक्ष तथा फ्रान्सेली लेजेन्ड मिचेल प्लाटिनीलाई पक्राउ गरिएको फ्रान्सेली प्रहरीले जनाएको छ ।
फिफाले सन् २०२२ को विश्वकप फूटबल कतारलाई आयोजना गर्न दिने सम्बन्धमा भ्रष्टाचार भएको भन्दै फौजदारी अनुसन्धान चलिरहँदा उनलाई पक्राउ गरिएको हो ।
प्लाटिनीलाई हिरासतमा लिइएको सम्बन्धी समाचार पहिलोपटक मिडियापार्ट न्युज वेबसाइटले मंगलवार बिहान रिपोर्ट दिएको थियो ।
कतारलाई आयोजन गर्न दिइने निर्णयमाथिको अनुसन्धानमा पहिलो ठोस कदमका रूपमा प्लाटिनीको पक्राउलाई लिइएको छ । उक्त अनुसन्धान दुई वर्षअघि फ्रान्सको पार्के नेसनल फाइनान्सियरले थालेको थियो । उक्त संस्थाले गम्भीर प्रकृतिको आर्थिक अपराधको अनुसन्धान गर्छ ।
प्लाटिनीले सन् २०१० को नोभेम्बर महिनामा सन् २०१८ र २०२२ को विश्वकप आयोजकमाथिको मतदानको एक महिनाअघि आफूले फ्रान्सको राष्ट्रपति कार्यालयमा तत्कालीन राष्ट्रपति निकोलास सार्कोजी र कतारका अमिर तमिम बिन हमाद अल थानीसँग दिवाभोज गरेको स्वीकार गरेका थिए । सार्कोजीले कतारसँग ठूलो व्यापार सम्झौता गर्न चाहेको र प्लाटिनीले फिफा भोट र यूईएफएको प्रभाव प्रयोग गरी सन् २०२२ मा कतारको पक्षमा प्रतियोगिता आयोजना दिलाउन सार्कोजीको सल्लाहमा काम गरेको बताएका थिए ।
द गार्डियनबाट