
नुवाकोट –नुवाकोटको लिखु गाउँपालिका–५ कल्छेपाखास्थित फुटबल खेल मैदानको मर्मत तथा सम्भारका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत दश जनाले काम शुरू गरेका छन् । उनीहरूलाई दैनिक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काम गरेवापत प्रति व्यातिm रु ६३० का दरले ज्याला दिइनेछ ।
लिखु गाउँपालिका–५ का वडाध्यक्ष रामकृष्ण श्रेष्ठले गाउँपालिकामा रोजगार कार्यक्रमका लागि रु ११ लाख बजेट आएकोमा प्रत्येक वडालाई रु एक लाख ३५ हजार रकम विनियोजन गरिएको बताए । वडा कार्यालयमा १३३ स्थानीयवासीले रोजगारका लागि निवेदन दिएका थिए । उनीहरूमध्ये १० जनालाई काममा लगाई प्रधानमन्त्री रोजगार कार्यक्रम शुरू गरिएको श्रेष्ठले बताए ।
खेलमैदान मर्मत सम्भारको काम सकिएपछि तिनै रोजगारदातालाई वडामा भत्काएका कुलो, धारा, खानेपानीका मुहान, सडक, बाटो, मठ मन्दिर, पाटीपौवा, विद्यालय, सार्वजनिक चौतारालगायतको मर्मत सम्भारका काममा लगाइने बताइएको छ ।