२२ जेठ २०८३, शुक्रबार

कर्णालीका राउटेलाई नागरिकता दिइने

कर्णालीका राउटेलाई नागरिकता दिइने

दुल्लु – कर्णालीका विभिन्न जिल्लामा फिरन्ते जीवनयापन गर्दै आएका राउटे समुदायलाई सरकारले नागरिकता दिने भएको छ । 

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले दैलेखको गुराँस गाउँपालिकाले दिएको परिचयपत्रका आधारमा नागरिकता दिने भएको हो । 

गाउँपालिकाले गत वर्ष परिचयपत्र वितरण गरेको थियो । त्यसबेला राउटे समुदायलाई सामाजिक विकास मन्त्रालयको सहकार्यमा उक्त गाउँपालिकाले परिचयपत्र उपलब्ध गराएको थियो । सोही परिचयपत्रका आधारमा नेपाली नागरिकता प्रदान गरिने मन्त्रालयका सचिव डा. मानबहादुर विकेले बताए ।

राउटे समुदायको क्षेत्रमा काम गरिरहेका सरोकारवालासँगको अन्तर्क्रियामा मन्त्रालयका सचिव डा. विकेले भने, ‘सामाजिक सुरक्षाभत्ता वितरणलगायतका अन्य सरकारी कामकाजमा सहजता हुने भएकाले नागरिकता वितरण गर्न लागिएको हो ।’ उनले राउटे समुदायसँग काम गरिरहेका सरोकारवालासँगको सहकार्य र समन्वयमा नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाउने बताए ।

अघिल्लो वर्ष गुराँस गाउँपालिका–८ को ठेगाना राखेर परिचयपत्र पाएका उनीहरुले गुराँस गाउँपालिकाकै स्थायी वासिन्दाको रुपमा नागरिकता पाउने भएका हुन् । ‘राउटे समुदायले जहाँबाट परिचयपत्र पाएका थिए, त्यहीँको ठेगाना राखेर नेपाली नागरिकता दिने प्रक्रिया शुरू गरिएको छ,’ दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले भने ।

प्रक्रिया पुर्‍याएर राउटे बस्तीमै पुगेर नागरिकता वितरण गर्ने प्रमुख जिल्ला अधिकारी बाँस्कोटाको भनाइ छ । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बेतीनी खोला किनारबाट दुई साताअघि दैलेखको गुराँस गाउँपालिका–५ कान्छी बजारमा बस्ती सारेका छन् । राउटे समुदायको जनसंख्या १ सय ४६ छ । उनीहरू कल्याल, रास्कोटी र राजवंशी ठकुरी छन् ।

salt training

कमेन्ट गर्नुहोस्