
काठमाडौं–समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवलाई पार्टीले कारबाही गरेको छ ।
समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको मंगलबार बसेको बैठकले यादवलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरेको हो ।
लाटभिया देशको राजधानी रिगामा भएको ‘इन्टरनेशनल नेटवर्क अफ पार्लियामेन्टेरियन अन फ्रि तिब्बत’ को कार्यक्रममा यादव सहभागि भएका थिए । तर फ्रि तिब्बतसम्बन्धी कार्यक्रममा सहभागि भएकोबारे पार्टीले स्पष्टीकरण सोध्दा उनको स्पष्टीकरण चित्तबुझ्दो नभएकाले उनलाई ६ महिनाको लागि निलम्बन गर्ने निर्णय गरिएको पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा यादव पार्टीलाई कुनै जानकारी नगराइ गएको बताइएको छ ।
यस्तै बैठकले पार्टीको केन्द्रीय कार्यालय प्रमुखमा अधिकारी, प्रचार विभागमा सचिव प्रशान्त सिंह, अर्थविभागमा कोषाध्यक्ष विजय कुमार यादव, विज्ञ परिषद्मा डा पुष्पराज राजकर्णिकार र केन्द्रीय सल्लाहकारमा भीमप्रसाद गौतमलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।