
उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका क्षेत्र गाईघाट लगायतका स्थानमा केही दिनयतादेखि अत्यधिक मात्रमा गर्मी बढेर जनजीवन प्रभावित हुन थालेपछि त्रियुगा नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सामुदायिक विद्यालय ३ दिनका लागि बन्द गर्ने निर्णय भएको छ ।
त्रियुगा नगरपालिका शिक्षा तथा युवा खेलकूद शाखाले मंगलवार एक सूचना जारी गर्दै बुधवारदेखि शुक्रवारसम्म ३ दिनका लागि त्रियुगा नगर क्षेत्रका सम्पूर्ण सरकारी विद्यालय बन्द गर्ने निर्णय गरेको त्रियुगा नगरपालिका शिक्षा युवा तथा खेलकूद शाखाका अधिकृृत जसबहादुर कार्कीले बताए ।
२ हप्ता अघिसम्म ३६ डिग्री तापक्रम रहेको त्रियुगा नगरपालिका क्षेत्रमा १ सातायता अचानक ४४ डिग्री तापक्रम पुगेपछि दिउँसो विद्यालयमा अध्ययनरत छात्रछात्रा अत्यधिक गर्मीका कारण बेहोस भएर लड्ने शिक्षक शिक्षिकासमेत बेहोस हुनेजस्ता अवस्था आएको कारण ३ दिनका लागि सामुदायिक विद्यालय बन्द गर्ने निर्णय गरिएको नगर शिक्षा एकाइ समितिले बताएको छ ।
अहिले त्रियुगा नगरपालिका क्षेत्रमा दिनमा अत्यधिक गर्मी भएको कारण दिनमा कोही पनि घरबाट बाहिर निक्लने अवस्था नभएको स्थानीय देवराज खड्काले बताए । गर्मीका कारण दिनमा ३ घण्टा सडक क्षेत्र तथा बजार क्षेत्रमा मानिसको चहलपहलसमेत ठप्प हुने गरेको छ ।