काठमाडौं– खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रशासनको संरक्षणमा आफ्नो पार्टीका कार्यकर्ता कुटाएको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ ।
राष्ट्रिय सभाको बुधवार बसेको बैठकको शून्य समयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्री पाण्डेले कञ्चनपुरको घटनाले सरकारको नियत प्रस्ट भएको बताएका हुन ।
‘कञ्चनपुर पुनर्वास नगरपालिकाको नगरपरिषद् उद्घाटन गर्न गएकी खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले प्रहरी प्रसाशनको संरक्षणमा कार्यकर्ता लगाएर आक्रमण गर्न लगाउनु भयो । हिजको कृत्यको भत्र्सना गर्छु,’ पाण्डेले भने ।
‘सुदूरपश्चिमको बजेट कटौती गरिएको र हुलाकी सडकको निर्माण कार्य रोकिएकोमा सरकारको मौनताप्रति ध्यानाकर्षण गराउन गएका कार्यकर्तामाथिको आक्रमणले सरकारको नियत स्पष्ट भएको छ,’ उनले थपे ।
आक्रमणबाट क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, विक्रम चन्द लगायत दर्जनौं कार्यकर्ता घाइते भएको उनले बताए ।
सर्लाही घटनाको छानबिनका लागि न्यायिक आयोग गठन गर्न माग
शून्य समयमा कांग्रेसका रमेशजंग रायमाझीले सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको हत्याको छानबिनका लागि न्यायिक समिति गठन गर्न माग गरे ।
‘कुमार पौडेललाई मुठभेडमा मारियो भनेर सरकारले जुन सन्देश फैलाउँदैछ । घटनाको सत्यतथ्य बुझ्न सरकारले न्यायिक आयोग गठन गरोस्,’ उनले भने ।
सांसद रायमाझीले काठमाडौं उपत्यकामा सिरिञ्ज आतंक मच्चिएको भन्दै प्रश्न गरे– ‘सिरिन्ज हान्नेलाई किन कारवाही गरिएको छैन ?’