
काठमाडौं – फ्रान्समा उखुम गर्मी भएर लू चलिरहँदा त्यसबाट बच्नका लागि समुद्रमा हाम्फाल्ने तीनजनाको चिसो लागेर मृत्यु भएको छ ।
सोमवार मार्सेलान प्लागे समुद्रीतटमा ७० वर्षीय एक व्यक्तिको हृदयघातबाट निधन भयो । त्यही दिन देशभरि तातोका विषयमा चेतावनी जारी गरिएको थियो ।
अन्य दुई व्यक्तिहरू, ६२ वर्षीया वृद्धा र ७५ वर्षीय वृद्ध त्यसै क्षेत्रमा त्यसैगरी मंगलवार मरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
सहारा क्षेत्रबाट आएको तातो हावाले गर्दा युरोप महादेशमा यो हप्ता उखुमै गर्मी भएको छ ।
केही देशहरूमा तापक्रमको कीर्तिमान भंग हुने समभावना छ ।
युरोपेली लूका कारण फ्रान्सको दक्षिणी भागमा अत्यधिक प्रभाव परेको छ ।
अचानक तापक्रम घट्दा मानव शरीरमा कोल्ड शक अर्थात् हाइड्रोक्सन हुन्छ ।
हिउँ भएको पानीमा कुनै व्यक्ति खस्यो भने सामान्यतया यस्तो अवस्था आउँछ तर समुद्र किनार जस्तो निकै तातो ठाउँबाट शरीर समुद्रको चिसो पानीमा पुग्दा पनि कोल्ड शक लाग्छ ।
यो लागेपछि रक्तनलीहरू तत्कालै खुम्चिन थाल्छन् र मुटु अँठ्याउँछ ।
यसले व्यक्तिलाई मारिहाल्छ नै भन्ने छैन तर मुटुरोग लागेकाहरूलाई यसले हृदयघात गराउँछ ।
चिकित्सकहरूले लू चलेका बेलामा बिस्तारै पानीमा पस्न सल्लाह दिने गरेका छन् ।
एजेन्सी