
भजनी – अछाम जिल्लाको रामारोशन गाउँपालिकामा व्याप्त रहेको बालविवाह न्यूनीकरण चुनौतीका रुपमा देखिएको छ ।
बालविवाह न्यूनीकरणका लागि सरकारी तथा अन्य गैरसरकारी संघसंस्थाले गाउँ र टोल केन्द्रित कार्यक्रम सञ्चालन गरिरहेको भएपनि ती सबै कार्यक्रम बालुवामा पानी हालेजस्तै भइरहेको स्थानीय बताउँछन् ।
गाउँपालिकाको अन्य वडाभन्दा वडा नम्बर ४ र ५ मा अन्य वडाभन्दा बढी संख्या बालविवाह हुने गरेको पाइन्छ । वडामा करीब ७०/८० प्रतिशत बालबलिका विद्यालय जाने उमेरमै अर्थात् १६/१७ वर्षको उमेरभन्दा कम उमेरमै विवाह गर्दछन् ।
विद्यालयमा अध्ययन गर्दागर्दै बालबालिका विवाह बन्धनमा बाँधिन्छ । परिपक्व नहुँुदै आमा बन्छन् किशोरीहरू । त्यति मात्र नभई विद्यालयबाट वञ्चित हुनाका साथै रोजगारीको सिलसिलामा भारत पुग्ने क्रम पनि बढ्दो छ ।
‘गाउँपालिकामा बाल क्लब छ । विद्यालयमा तथा गाउँ र टोलमा कार्यक्रमहरु सञ्चालन भइरहेकै छ,’ रामारोशन गाउँपालिकाकी उपाध्यक्ष सरस्वती रावलले भन्छिन्, ‘बाल क्लबमै लागेका बालबालिका पनि कम उमेरमै विवाह गर्छन् । सामाजिक अभियन्ताका छोराछोरी नै बालविवाह गर्छन् ।’
गाउँमा सडक सञ्जाल जोडिएपनि सडकको अवस्था नाजुक छ । राम्रो अस्पताल नहुँदा कोही बिरामी भएपनि ४/५ घण्टाको यात्रापछि जिल्लाको नमूना अस्पताल बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
गाउँपालिकासँग एम्बुलेन्स भएपनि सडक सञ्जालको समस्याका कारण एम्बुलेन्स सबै वडा कार्यालयसम्म पुग्न सकेको छैन ।
अशिक्षाको कमी, रूढीवादी सोच, जनचेतनाको कमी, मोबाइल फोन तथा सामाजिक सञ्जालको दुरुपयोग र देखासिकीका कारण पनि बालविवाह न्यूनीकरणको साटो झन् बढ्दै गएको पाइन्छ । गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद पनि गाउँपालिकामा बालविवाह न्यूनीकरण गर्नु गाउँपालिकाकै लागि चुनौती रहेको बताउँछन् । बाल क्लबका पदाधिकारी नै बालविवाह गर्छन् । अरूलाई सम्झाउने बालबालिकाहरू नै बालविवाह गर्छन् ।
बालबालिका विवाह गरेर गाउँबाट भारत भाग्नेसमेत गरेका छन् । ३/४ जोडीलाई कैलाली भन्सार कार्यालय र कञ्चनपुर गड्डाचौकी सीमा नाकाबाट बालबालिकाको उद्धार गरी गाउँपालिकाको रोहवरमा परिवारलाई बुझाएको अध्यक्ष साउँद बताउँछन् ।
‘गाउँपालिकाको मुख्य समस्या घरेलु मदिरा नियन्त्रण, छाउपडी प्रथा उन्मूलन र बालविवाह न्यूनीकरण नै हो,’ अध्यक्ष साउँदले भने, ‘हामी छाउपडी प्रथा उन्मूलन अभियान र घरेलु मदिरा नियन्त्रण अभियानमा गाउँपालिका सफल हुने देखिन्छ ।’
गाउँपालिकाका अन्य वडामा पनि बालविवाह व्याप्त छ । अशिक्षाका कारण बालविवाह बढ्दै गएको सामाजिक अगुवा बताउँछन् । विशेषगरी गाउँपालिकाभित्र दलित समुदायका बालबालिकाहरु बढी बालविवाह गर्ने गरेको तथ्यांक गाउँपालिकाले निकालेको छ । अन्य समुदाय पनि बालविवाहलाई नै प्रश्रय दिइरहेको गाउँपालिकाका उपाध्यक्ष रावल बताउँछिन्, हिजोका दिनमा धर्म, संस्कारको नाममा बालविवाह हुने गरेका थिए ।
उपाध्यक्ष रावलले भनिन्, ‘अहिले सामाजिक सञ्जाल र देखासिकीका कारण बालविवाह हुने गरेका छन् ।’ गाउँपालिकाको न्यायिक समितिमा भने हालसम्म बालविवाहका २ वटा मात्र उजुरी परेको बताउँदै न्यायिक समितिका संयोजक एवम् उपाध्यक्ष रावलले दुवै जोडीलाई छुटाएर २० वर्ष नपुगुञ्जलेसम्म सँगै बस्न नदिने शर्तमा परिवारको जिम्मा लगाएको बताइन् ।
उपाध्यक्ष रावलले गाउँपालिकाले बालविवाह गर्ने परिवारलाई गाउँपालिकाबाट दिने सेवासुविधाबाट समेत वञ्चित गर्नुपर्ने अवस्था आइसकेको बताइन् । आगामी आर्थिक वर्षमा गाउँपालिकाले बालविवाह न्यूनीकरणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गाउँपालिकाले जनाएको छ ।