
काठमाडौं— सत्यतथ्य नबुझिकन आफूलाई जोडेर समाचार प्रकाशित भएको भन्दै गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले खेद प्रकट गरेका छन् ।
आज सिंहदवारको पूर्वी गेटमा बा २ झ ४३८८ नम्वरको स्कारपियोमा ट्राफिक प्रहरीले लक लगाएर कारवाही गरेको थियो ।
‘सत्यतथ्य नबुझिकन समाचार प्रकाशित भएछ, यसप्रति मेलै खेद प्रकट गर्दछु,’ लोकान्तरसँग प्रवक्ता सुवेदीले भने ।
उनले भने, ‘ पित पत्रकारिताको पराकाष्ठा हो यो । अरुको मानहानी हुनेगरी सत्य नबुझिकन समाचार प्रकाशित भएछ । मेरो त्यो गाडी नै होइन, म हुन्डाइको ३५१७ नम्वरको गाडी चढ्छु ।’
यसैगरी ट्राफिक प्रहरी प्रमुख एसएसपी बसन्त पन्तले पनि सो गाडी गृह प्रवक्ताले चढ्ने गाडी नभएको बताएका छन् ।
‘ट्राफिक प्रहरीले अनाधिकृत रुपमा पार्किङ गरेको गाडीलाई लक लगाएको हो । त्यो गाडी गृह मन्त्रालयको त हो तर गृहप्रवक्ता चढ्ने गाडी भने होइन ।’ पन्तले लोकान्तरसँग भने ।
अनाधिकृत रुपमा पार्किङ गरिएको बा २ झ ४३८८ नम्वरको गाडी गृह प्रवक्ताको भएको र उनले कारबाहीमा परेपछि ट्राफिक प्रहरीलाई थर्काएको भन्ने समाचार विभिन्न अनलाइहरुमा आएका थिए ।