कास्की- ऐतिहासिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको कास्कीस्थित झोवाङको शीतल गुफा पर्यटकको पर्खाइमा रहेको छ ।
कास्कीका अन्नपूर्ण गाउँपालिका–५ सल्यानस्थित प्रचुर पर्यटकीय सम्भावना रहेको सो गुफालाई स्थानीय पहलमा व्यवस्थित गरेसँगै यतिखेर यसलाई पर्यटकीय गन्तव्य बनाउन स्थानीयवासी लागिपरेका छन् ।
पोखरा–बागलुङ सडकखण्डको झुवारी खोला पुलसँगै सुगम स्थानमा अवस्थित प्राचीन गुफामा आवश्यक भौतिक संरचनाको विकाससहित प्रचारप्रसारमा जोड दिइएको शीतल गुफा धार्मिक तथा पर्यटकीय विकास संस्थाका सचिव चुडामणि शर्मा पौडेलले जानकारी दिए ।
उनका अनुसार दुई सय पचास मिटर लम्बाइको सो गुफाको प्रवेशद्वारमा परम्परागत कुटानीपिसानीका साधन ढिकी र जाँतो, १०८ पाला, पञ्चेबाजालगायत केही भित्र गएपछि शिव, सिद्धिविनायक, बूढानीलकण्ठलगायतका विभिन्न देवदेवीका आकृति स्पष्ट देख्न सकिन्छ ।
गुफाको केही भित्र गएपछि करीब १० मिटरको उचाइमा भर्याङमार्फत दोस्रो तल्लामा प्रवेश गरिने बताउँदै उनले २०३७ सालमा शीतला मावि विरेठाँटीका प्रअ शिव पौडेल विद्यार्थीसहित पहिलो पटक प्रवेश गरेपछि मात्रै गुफा पत्ता लागेको हो ।
सडकदेखि ५० मिटरको दूरीमा रहेको गुफासम्म पुग्न पदमार्ग, आवश्यकताअनुसार फलामे भर्याङ, प्रवेशद्वारमा फलामे च्यानल गेट निर्माण गर्ने तयारी भइरहेकोे शीतल गुफा निर्माण समितिका अध्यक्ष उमालाल पौडेलले जानकारी दिए ।
गुफाभित्र फराकिलो रहेको कारण ओहोरदोहोरमा खासै अप्ठेरो नपर्ने बताउँदै उनले विद्युत् लाइन विस्तार गरिने जानकारी दिए । योसँगै गुफामा आन्तरिक एवम् बाह्य पर्यटकको आकर्षण बढ्ने विश्वास लिइएको छ । गुफाको विकासका लागि गण्डकी प्रदेश सरकारबाट सात लाख र डिभिजन वन कार्यालयबाट पाँच लाख रुपैयाँ प्राप्त भएको उनले जानकारी दिए ।
उनका अनुसार गुफा परिसरमा पार्किङ एवम् गुफामा आउने पर्यटकको सुविधाका लागि खानेपानी, शौचालयसमेत निर्माण गरिनेछ । पोखराबाट लगभग ४० किलोमिटरको दूरीमा रहेको सो गुफाभित्र प्रशस्त चमेरा रहेको ६८ वर्षीय स्थानीय बासिन्दा नरहरि पौडेल बताउँछन् । गाउँमा कोदोको बीउका लागि गुफामा प्रवेश गरेर चमेराको मल ल्याउने गरेको अनुभव सुनाउँदै उनले यो मल राखेपछि बीउ सप्रने गरेको स्मरण गराए ।
सो गुफामा विशेषगरी परम्परादेखि नै बालाचतुर्दशीमा सद्बीज छर्ने र शिवरात्रिमा गाईको दूध चढाउने श्रद्धालु भक्तजनहरूको भीड लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् ।
कास्की जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले गुफाको विकासका लागि गुरुयोजना बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
गाउँपालिकाका विकास निर्माणका गतिविधिको अनुगमनका सिलसिलामा सो स्थानमा पुगेको उनले गुफाको विकाससँगै पर्यटन प्रवर्द्धन गर्न सके स्थानीय बासिन्दाको आयआर्जनमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे । -हरि बाँस्तोला/रासस