काठमाडौं – गूगलले हुआवे फोनमा अप्डेट गर्न प्रतिबन्ध लगाएपछि हुआवे प्रयोगकर्ता अब के हुने हो भनी चिन्तामा परेका छन् । अमेरिकाको ट्रम्प प्रशासनले चिनियाँ कम्पनी हुआवेलाई अमेरिकी कम्पनीसँग व्यापार गर्न रोक लगाएपछि गूगलले यो कदम चालेको हो ।
प्रतिबन्धपछि गूगल र अन्य अमेरिकी कम्पनीले सरकारको अनुमति नलिई हुआवेलाई कुनै पनि प्रविधि आपूर्ति गर्न सक्दैनन् ।
आधारभूत एन्ड्रोइड अपरेटिङ सिस्टम (अर्थात् एन्ड्रोइड ओपन सोर्स प्रोजेक्ट) बाहेक गूगलले हुआवेलाई प्लेस्टोर, जिमेल, गूगल म्याप्स तथा अन्य गूगल यापहरूको अनुमति दिएको छ । प्रतिबन्धपछि अब गूगलले यी सेवाको अनुमति नयाँ हुआवे फोनहरूलाई दिन पाउने छैन । तर अहिले चलिरहेका हुआवेमा यी सेवाहरू रोकिने छैनन् ।
एन्ड्रोइड भनेको ओपन सोर्स हो र प्रयोग गर्ने जोकोहीलाई यो उपलब्ध छ । त्यसैले आधारभूत अपरेटिङ सिस्टममा कुनै असर पर्ने छैन । अनुमति चाहिने सेवाहरू चाहिँ प्रतिबन्धको मारमा पर्नेछन् । गूगलले प्लेस्टोर र गूगल प्ले सर्भिसेज हुआवेमा काम गर्ने बताइसकेको छ । तर नयाँ हुआवेमा यो सेवा उपलब्ध नहुन सक्छ ।
हुआवेमा एन्ड्रोइड सिस्टम अप्डेट गर्न चाहिँ मिल्छ । तर एन्ड्रोइडमा भएको अप्डेटमा उसको पहिलो पहुँच चाहिँ हुने छैन । हुआवेले प्रयोगकर्ताहरूलाई यी अप्डेटहरू गर्न आफैं खबर गर्नुपर्नेछ अनि आफ्नो इन्टरफेसमा तिनलाई अनुकूल बनाउनुपर्नेछ । यसो गर्न महिनौं लाग्न सक्छ । त्यसो त अप्डेट स्लो हुने समस्या पहिलेदेखिकै हो तर अहिलेको स्थितिले झनै ढिलाइ हुन सक्छ ।
हुआवेले नियमित सेक्युरिटी अप्डेट गर्ने त भनेको छ तर त्यो अप्डेट गूगलबाट सीधै आउँदैन । गूगलले आधारभूत एन्ड्रोइड सेवामा यसलाई उपलब्ध गराएपछि मात्र सेक्युरिटी अप्डेट गर्न मिल्छ ।
त्यसो त हुआवेले आफ्नै अपरेटिङ सिस्टम पनि बनाउँदैछ र चीनमा गूगल प्ले नराखिकनै डिभाइसहरू बेचिरहेको छ । तर नयाँ अपरेटिङ सिस्टम बनाउनु अनि आफ्नै यापहरू बनाउनु निकै ठूलो कुरा हो र ग्राहकहरू यसलाई कुरेर बसिरहलान् भन्ने ग्यारेन्टी छैन ।
फोर्ब्सबाट