
सुर्खेत – कर्णाली प्रदेशको जुम्ला पातारासी गाउँपालिका–१ गडीगाउँस्थित एक मेगावाट क्षमताको जलविद्युत् शिलान्यास गरिएको छ ।
चुकेनी खोला विद्युत् सहकारी संस्थाअन्तर्गत निर्माण हुन लागेको ९ सय ९८ किलोवाट (करीब १ मेगावाट)को चुकेनी खोला साना जलविद्युत् आयोजना कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले बिहीबार शिलान्यास गरेका हुन् ।
सो अवसरमा उनले दुर्गमका जनताका लागि उत्पादित विद्युत् कोसेढुङ्गा सावित हुने बताए ।
‘विद्युत् पूर्वाधारको सबैभन्दा महत्त्वपूर्ण आधार हो, यसले अब जुम्लालाई अँध्यारो युगबाट मुक्त गराउने छ,’ उनले भने । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले शुरू गरेको नेपालकै पहिलो जलविद्युत् आयोजनाले यहाँका नागरिकको आर्थिक स्थितिमा अपेक्षित सुधार आउने उनको भनाइ थियो । तिलानदीमा खेर गइरहेको पानी यहाँको जनताको अथक प्रयास र लगानीले अब माग्ने नभई दिनेमा परिणत गरिदिएको उनको तर्क थियो ।
चुकेनी खोला विद्युत् सहकारी संस्थाका अध्यक्ष गोरबहादुर बुढाले सरकारले मूल्य अभिवृद्धिमा छुट दिएकाले आयोजनाको लागत ४७ करोड रुपैयाँ पुगेको बताए । ‘६ वर्षको निर्वाध प्रयासले उक्त विद्युत् आयोजनाको शिलान्यास गर्न सफल भइएको छ,’ अध्यक्ष बुढाले भने, ‘अब १ वर्ष ६ महिनामा यसलाई सम्पन्न गराइछाड्छौं ।’
अध्यक्ष बुढाका अनुसार सो आयोजना निर्माणका लागि एशियाली विकास बैंकको २८ करोड ४४ लाख ३० हजार रुपैयाँ लगानी छ । स्थानीयको २ करोड ६० लाख तथा गाउँपालिकाको ३० लाख रुपैयाँ शेयर लगानी, समितिको नाममा कृषि विकास बैंक जुम्लाबाट ५ करोड रुपैयाँ ऋण, प्रदेश सरकारको १ करोड रुपैयाँ र दलित जनजातिलाई थप अनुदानवापत २८ लाख २८ हजार रुपैयाँ प्राप्त भएको छ । प्राविधिक सहयोग वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको उनले बताए ।
मूलतः यसरी निर्माण हुन थालेको जलविद्युत् कर्णालीमा अहिलेसम्मकै सबैभन्दा ठूलो आयोजना हो । आयोजनाबाट पातारासी, गुठीचौर गाउँपालिका तथा चन्दननाथ नगरपालिकाका करीब ४९ हजार ३६८ जनसंख्या लाभाविन्त हुने जनाइएको छ ।