
काठमाडौँ– ऊर्जामन्त्री वर्षमान पुनले चिनियाँ राजदूत होउ याङचीलाई मन्त्रालयमा बोलाएर चिनियाँ कम्पनीको कामबारे सोधे ।
अनौपचारिक छलफल सञ्चारमाध्यममा सार्वजनिक भएपछि याङचीले साँझ ट्वीटमार्फत जवाफ दिइन् । तत्काल प्रतिक्रिया नजनाउने चिनियाँ राजदूतले सार्वजनिक रुपमै जवाफ दिनुको गहिरो अर्थ रहेको कूटनीतिज्ञहरु बताउँछन् ।
आजको कान्तिपुर दैनिक लेख्छ–ऊर्जामन्त्री वर्षमान पुनले नेपालका लागि चिनियाँ राजदूत होउ याङचीलाई मंगलबार सोधे, ‘चिनियाँ कम्पनीहरूले चीन र अन्य विश्वमा राम्रो काम गरिरहेका छन्, यहाँ किन गर्न सकिरहेका छैनन् ?’ सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा राजदूत याङचीले यसबारे आफूले ‘गहिरो अध्ययन र अनुसन्धान गरिरहेको’ कूटनीतिक जवाफ दिएर फर्किइन् ।
तर, राजदूत याङचीले दूतावास फर्केपछि त्यही साँझ ७ः४४ बजे ट्वीट गरिन्, ‘नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनामध्ये सबभन्दा ठूलो आयोजना चीन जलविद्युत् संस्थाले गरेको हो ।’ उनले आयोजनाको नाम भने उल्लेख गरेकी छैनन् ।
चिनियाँ कम्पनी सिनो हाइड्रोले ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको सिभिलतर्फको निर्माण गरिरहेको छ । निर्माणको अन्तिम चरणमा रहेको यो आयोजनाको कार्यप्रगति सन्तोषजनक छ ।