
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल–भारत सम्बन्ध पुनरवलोकन गर्न बनेको प्रबुद्ध समूह (ईपीजी)को प्रतिवेदन छिट्टै कार्यान्वयनमा जाने बताएका छन् ।
परराष्ट्र मन्त्रालय र परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानद्वारा शनिबार आयोजित राष्ट्रिय विदेश नीति संवादमा उनले प्रतिवेदन दुवै सरकार प्रमुखले चाँडै बुझेर कार्यान्वयनमा लैजाने विश्वास व्यक्त गरेका हुन् । “भारतसँगको सम्बन्ध पुनरवलोकन गर्न बनाएको ईपीजीको प्रतिवेदन बुझाउने वातावरण बनिरहेको देखेको छु । त्यसपछि कार्यान्वयनमा कसरी अघि बढाउने भन्ने चरणमा प्रवेश गर्नेछौँ”, उनले भने । उनले भारत र चीन दुवैसँग नेपालको सम्बन्ध सङ्लिएको उल्लेख गर्दै राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर सार्वभौमिक समानताका आधारमा सम्बन्ध अघि बढाइएको बताए ।
उनले परराष्ट्र नीति विभाजित हुन नसक्ने पनि बताए । “हाम्रो वैदेशिक सम्बन्ध र परराष्ट्र नीति साझा चासोको विषय हो । यस विषयमा सिङ्गो देश एउटै नीति र भाषामा बोल्नुपर्छ”, उनले स्पष्ट पारे।
परराष्ट्र नीति राष्ट्रिय संवाद कार्यक्रम उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अब देशमा राजनीतिक स्थिरता र स्थायित्वले स्थान लिएको अवस्थामा दृष्टिकोणमै भिन्नता हुनुपर्ने आवश्यकता नरहेको औँल्याए । गाेरखापत्र दैनिकमा खबर छ ।