२२ जेठ २०८३, शुक्रबार

इजाजत प्राप्त व्यक्तिको मृत्यु भइसक्दा पनि अधिकांशले बुझाउँदैनन् हतियार, प्रशासनसँग छैन तथ्यांक !

असार १५, २०७६
इजाजत प्राप्त व्यक्तिको मृत्यु भइसक्दा पनि अधिकांशले बुझाउँदैनन् हतियार, प्रशासनसँग छैन तथ्यांक !

जनकपुरधाम – जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २५ लोहनाका सञ्जय ठाकुरले १२ बोरको एक नाले बन्दुक २०७५ साल चैत २८ गते जिल्ला प्रशासन कार्यालय धनुषालाई बुझाए । 

उक्त हतियार उनका बुवा जगन्नाथ ठाकुरले जिल्ला प्रशासन कार्यालय धनुषाबाट इजाजत लिएर आफ्नो घरमा राख्ने गरेका थिए । हतियारको लाइसेन्स नम्बर १७७४ थियो । तर उनको बुवाको निधन भइसकेको छ ।  

हतियार राख्न इजाजतप्राप्त व्यक्तिको मृत्यु भइसकेकाले हतियार बुझिलिन भन्दै उनले जिल्ला प्रशासन कार्यालयमा निवेदन नै दर्ता गराएका थिए ।

जिल्ला प्रशासन कार्यालय धनुषाले सो हतियार बुझेर जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको छ ।

धनुषाकै औरही गाउँपालिका वडा नम्बर ४ बस्ने जटहु साहको नाममा रहेको दुई नाले बन्दुक पनि २४ चैतमा नै जिल्ला प्रशासन कार्यालय धनुषाले बुझेको थियो ।

सि.नं.२८९५६ को दुई नाले बन्दुक पनि इजाजतप्राप्त व्यक्तिको मृत्यु भएकाले बुझाउन ल्याइएको थियो ।

यी दुई थान इजाजतप्राप्त हतियार प्रशासनले बुझेपनि यस्ता थुप्रै हतियार छन्, जसलाई इजाजत प्राप्त व्यक्तिको मृत्यु भइसके पनि उनका सन्ताले प्रशासनमा बुझाएका छैनन् ।

२०७५ साल चैत्र १ गते जिल्ला प्रशासन कार्यालय धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले एउटा सूचना नै प्रकाशित गरेर ‘इजाजत नलिई वा इजाजत पत्र नवीकरण नगराई वा इजाजत प्राप्त व्यक्तिको मृत्युपश्चात हकवालाको नाममा नामसारी नगराई वा अन्य जुनसुकै तरिकाले जिल्लाभित्र कसैले हात हतियार तथा खरखजाना राखेको भए ३५ दिन भित्र बुझाउनू’ भनेका थिए । 

तोकिएको म्यादभित्र हात हतियार तथा खरखजाना बुझाउन ल्याएमा यसअघि ती अवैध हात हतियार र खर खजाना राखेको कारणले मात्रै त्यस्ता व्यक्तिलाई कानूनी कारवाही नचलाइने उक्त सूचनामा उल्लेख छ । र, स्वेच्छाले तोकिएको समय अवधिभित्र हतियार नबुझाएमा कानून बमोजिम कारबाही हुने जानकारी पनि उक्त सूचनामार्फत गराइएको छ ।

तर, सूचनाको हद म्याद सकिएपनि धनुषामा दुईजना व्यक्तिले मात्र हातहतियार बुझाएको पाइएको छ । धेरैजसो मानिसले प्रशासनबाट हतियार राख्ने अनुमति लिएर नवीकरण नै नगराई राख्ने गरेका छन् ।

इजाजत प्राप्त गरिएको हतियार प्रत्येक वर्ष जिल्ला प्रशासन कार्यालयमा नवीकरण गराउनुपर्ने कानूनी प्रावधान छ । नवीकरण नगराएको खण्डमा वैध हतियार पनि अवैध ठहर हुन जान्छ । तर नवीकरण नै नगराएर पनि धेरै मानिसले आफूसँग हतियार राख्ने गरेका छन् ।

आर्थिक वर्ष २०७३/०७४ मा जिल्ला प्रशासन कार्यालय धनुषामा २ सय २१ जनाले हात हतियारको इजाजत नवीकरण गराएका थिए । तर, आर्थिक वर्ष २०७४/०७५ मा भने ९३ जनाले मात्र हतियार इजाजतको नवीकरण गराए ।  त्यस वर्ष १ सय २८ जनाले हातहतियार लाइसेन्सको नवीकरण नै गराएनन् । चालू आर्थिक वर्ष २०७५/०७६ को असार १५ गतेसम्ममा ८३ जनाले मात्र हतियारको नवीकरण गराएका छन् ।

यी त भए हाल सालका वर्षमा नवीकरण नगराउनेहरूको संख्यात्मक विवरण । तर, पाँच वर्षसम्म नवीकरण नगराएका हतियारको नवीकरण नै नहुने कानुनी प्रावधान छ । त्यस्ता पनि थुप्रै अवैध हतियार मानिसले आफूसँगै राख्ने गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय धनुषाको प्रशासन फाँटका नायब सुब्बा सुनिल कुमार झाका अनुसार पाँच वर्षभन्दा पुरानो हतियारको नवीकरण नगराएकाहरूो संख्याको अभिलेख अहिले निकालिएको छैन ।

‘असार मसान्त सकिएपछि ती सबै विवरण निकाल्ने छौं,’ झाले भने, ‘यति नै संख्यामा छन् होला भनेर भन्न सकिन्न तर, धेरै हतियार त्यस्ता हुन सक्छन् ।’

धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल भने यस विषयमा बल्ल आफ्नो ध्यानाकर्षण भएको बताउँछन् । ती अवैध हतियार किन संकलन नगरिएको भन्ने प्रश्नमा प्रमुख जिल्ला अधिकारी कणेलले भने, ‘तपाईंले ध्यानाकर्षण गराउनुभयो, अब छिट्टै त्यसतर्फ कारवाही अगाडि बढाउछौँ ।’

salt training

कमेन्ट गर्नुहोस्