१८ असार २०८३, बिहीबार

त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर, नम्बर थपेर आफन्त उत्तीर्ण गराएको खुलासा

त्रिवि सेवा आयोगका अध्यक्ष शर्मासहित १० जनाविरुद्ध मुद्दा दायर, नम्बर थपेर आफन्त उत्तीर्ण गराएको खुलासा

त्रिभुवन विश्वविद्यालय सेवा आयोगका अध्यक्ष चैतन्य प्रसाद शर्मासहित १० जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष शर्मासहित सदस्य चिन्तामणी पोखरेल, आयोगको कार्यालयका प्रशासन प्रमुख परशुराम कोइराला, मुख्य कार्यालय सहायक बच्चुराम पाण्डे, आयोगका कर्मचारी इन्दिरा तिवारी भन्तना, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक टेकनाथ ढकाल, प्राध्यापक गोविन्द ढकाल, सहप्राध्यापक राजेश्वर न्यौपाने, सहप्राध्यापक तारा प्रकाश पौडेल र राम बहादुर पाण्डे क्षत्री गरी दश जनाविरुद्ध बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
 उनीहरुले पदीय मर्यादा अनुरुप आफूले पूरा गर्नुपर्ने दायित्व पुरा नगरी आयोगले खुलाएको विज्ञापन अनुसार लिखित परीक्षामा नम्बर थपेर थपेर नतिजा फेरबदल गराएको देखिन आएको अख्तियारले जनाएको छ । 

उनीहरुले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १३ को कसूर अपराध गरेको भन्दै दफा १३ बमोजिम सजायँ गर्न माग दाबी गरिएको छ भने  शर्मा, पोखरेल, कोइराला र ढकालद्वयलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ बमोजिम थप सजायको समेत मागदावी गरिएको छ । 

 आयोगले प्रकाशन गरेको विज्ञापन अन्तर्गत विभिन्न प्रशासनिक तथा प्राविधिक पदको स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षामा प्राप्ताङ्क फेरबदल गरी आयोगका पदाधिकारी र कर्मचारीहरुका आफन्त मान्छेहरुलाई समेत उत्तिर्ण गराई अनियमितता गरेको पुष्टि हुन आएको पनि अख्तियारले जनाएको छ । 

अख्तियारले भनेको छ, ‘आयोगको आन्तरिक कार्यविधिको दफा ३६ मा भएको ब्यवस्था बमोजिम आयोगमा कार्यरत कुनै शिक्षक–कर्मचारीको कुनै नातेदार वा आफु स्वयं आयोगद्वारा संचालन हुने कुनै विज्ञापनमा उम्मेदवार भएमा सोको लिखित जानकारी सम्बन्धित शिक्षक–कर्मचारीले अध्यक्ष समक्ष अनिवार्य रुपमा दिनु पर्नेछ र यस बमोजिम सूचना प्राप्त भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो परीक्षा संचालन सम्बन्धी कामबाट अलग राख्ने ब्यवस्था गर्नुपर्नेछ भन्ने ब्यहोरा उल्लेख भएकोमा सो को पालना भएको पाइएन।’


आयोगद्वारा लिइएको प्राविधिक तथा प्रशासनिक तर्फका विभिन्न १६ पदहरुमध्ये शाखा अधिकृत, लेखा अधिकृत, सहायक कानुनी सल्लाहकार, मुख्य लेखा सहायक, मुख्य कार्यालय सहायक र कार्यालय सहायक गरी छ पदहरुका स्थायी पदपूर्तिका लागि भएको लिखित परीक्षा सञ्चालन तर्फ ३५ थान उत्तरपुस्तिकाको कोडिङ्ग–डिकोडिङ्ग, परीक्षण, संपरीक्षण, रुजु लगायत नतिजा प्रकाशनमा समेत थुप्रै अनियमितताहरु भएको देखिन आएको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्