काठमाडौं – राहुल गान्धीले राजीनामा पत्र सार्वजनिक गरेर आफू अध्यक्ष बनिरहने सबै सम्भावना बन्द गरेका छन् ।
यसका साथै उनले कांग्रेसलाई गान्धी परिवारमुक्त बनाउने दिशामा कदम बढाएका छन् । कांग्रेसको नयाँ अध्यक्ष गान्धी परिवारबाटै हुने भनी राहुलले लक्ष्मणरेखा पनि कोरेका छन् ।
कांग्रेस अहिले उसको इतिहासकै सबभन्दा खराब चरणबाट गुज्रिरहेको छ । लोकसभा चुनावपछि ऊ नदीको बीचमा फसे जस्तो अनुभव गरिरहेको छ ।
यस्तो राजनीतिक स्थितिमा कांग्रेस अध्यक्ष पद छोडेर नयाँ राजनीतिक प्रयोगका लागि राहुल गान्धीले उठाएको कदमबाट राहुल कतै राजनीतिक जोखिम त मोलिरहेका छैनन् भन्ने प्रश्न उठेको छ ।
आमा सोनिया गान्धीपछि राहुल गान्धी सन् २०१७ को डिसेम्बर महिनामा कांग्रेस अध्यक्ष बनेका थिए । राहुलले सन् २००४ मा राजनीतिमा प्रवेश गरेका थिए र उनी सन् २००७ मा राष्ट्रिय महासचिव बने । पछि उनी उपाध्यक्ष बने ।
राहुलले कांग्रेसमा विभिन्न राजनीतिक प्रयोग गर्न खोजेका थिए तर सफल भएनन् ।
महासचिव हुँदा राहुलले युवा कांग्रेस संगठनमा सीधै नियुक्तिभन्दा पनि चुनावलाई प्राथमिकता दिए । उपाध्यक्ष हुँदा राहुलले चुनावमा उम्मेदवारलाई मैदानमा ओराल्नुअघि उसैको क्षेत्रमा भोटिङ प्रक्रियाको फर्मुला अपनाएका थिए ।
यसपटक उनले लोकसभा चुनावमा उम्मेदवारको चयनमा शक्ति यापलाई राहुलले महत्त्व दिएका थिए ।
तर यी प्रयोगमा उनी विफल भए । अब कांग्रेसलाई गान्धी परिवारको सहारा लिने मानसिकताबाट मुक्त गर्ने कदममा राहुल गान्धी कत्तिको सफल होलान् ?
कांग्रेसको राजनीतिका बारेमा लामो समय कलम चलाएका पत्रकार शकील अख्तर भन्छन्, ‘राहुल गान्धीले सोचविचार गरेरै फैसला लिएका हुन् । उनी आदर्शवादी मूल्यमान्यतामा आधारित राजनीति गर्न चाहन्छन् । त्यसमा जित्नु मात्र सबैथोक हैन । त्यसैले उनले आफ्नो विद्यार्थी र युवा संगठनमा लोकतान्त्रिक व्यवस्था लागू गर्नका लागि चुनाव गराउने कदम उठाएका थिए । तर पार्टीमा यसको विरोध भयो ।’
अहिले युवा कांग्रेसमा पहिलेको जस्तो जोश देखिँदैन । सन् १९७७ को चुनावमा इन्दिरा गान्धीले हार बेहोरेपछि कांग्रेसीहरूले सडकमा आएर नारा लगाएका थिए, ‘आधी रोटी खान्छौं, इन्दिरालाई फर्काउँछौं ।’
तर यसपालि लोकसभा चुनावमा हार भएको ४० दिनपछि कांग्रेसीहरू धर्नामा बस्दा उनीहरूको संख्या कम थियो । यसले राहुल गान्धीलाई ठूलो झड्का लागेको हुनुपर्छ त्यसैले उनले आफ्नो राजीनामापत्र सार्वजनिक गरे ।
शकील अख्तर चाहिँ कांग्रेस अध्यक्ष पद छोडेर राहुल गान्धीले निकै ठूलो जोखिम मोलेको बताउँछन् । उनी अध्यक्ष पदमा फेरि फर्कन्छन् कि फर्कदैनन् भन्ने कुरा पनि निश्चित छैन ।
उनका अनुसार, राहुल गान्धी बढी नै उदार छन् । त्यसैले कांग्रेसीहरू उनको कुरामा ध्यानै दिँदैनन् । इन्दिरा गान्धीले पाँच वर्षमा तीन मुख्यमन्त्री परिवर्तन गरेकी थिइन् । तर सोनिया र राहुलले दिल्लीमा शीला दीक्षित र असममा तरुण गोगाईलाई १५ वर्षसम्म मुख्यमन्त्री बन्न दिए । यसले गरेको क्षतिका बारेमा सबै जानकार छन् ।
वरिष्ठ पत्रकार अरविन्द सिंह चाहिँ राहुल गान्धीले कांग्रेस अध्यक्ष पदबाट राजीनामा दिनु हुँदैनथियो भन्ने तर्क गर्छन् । लोकसभा चुनावमा हारेपनि अघिल्लो वर्ष तीन राज्यमा कांग्रेसले चुनाव जितेर सत्ता हात पारेको थियो । यसले राहुललाई सर्वमान्य नेताका रूपमा स्थापित गरेको थियो ।
विगत ३० वर्षमा गान्धी परिवार बाहिरका कांग्रेस अध्यक्षले पार्टी चलाउन नसकेको सिंह बताउँछन् । नरसिंह राव पार्टी अध्यक्ष हुँदा नारायणदत्त तिवारी जस्ता दिग्गज कांग्रेस नेताले विद्रोह गरेर फरक दल बनाएका थिए । सोनिया गान्धी अध्यक्ष भएपछि उनी कांग्रेसमा फर्किए ।
अनि पार्टीमा नेता र कार्यकर्ताबीच गुटबन्दी छ । त्यसलाई गान्धी परिवारको सदस्यले नै सम्हाल्न सक्छ । तर राहुल गान्धी अध्यक्ष नरहेपनि मास लीडरका रूपमा उनको महत्त्व छ ।
वरिष्ठ पत्रकार रशीद किदवईले राहुल गान्धीसँग राजीनामा दिनुबाहेक कुनै विकल्प नरहेको बताएका छन् । गान्धी परिवारबाहेक पार्टीका अन्य नेता मेहनत गर्न चाहँदैनन् जबकि अन्य दलका नेतादेखि कार्यकर्ता संघर्ष गर्छन् ।
यस्तो स्थितिमा चुनाव जित्न नसकिने संकेत राहुलले आफ्नो राजीनामामार्फत दिएका हुन् । सन् १९८९ पछि गान्धी परिवारको कुनै पनि व्यक्ति प्रधानमन्त्री बन्न सकेको छैन । त्यसैगरी अब कांग्रेस संगठनबाट गान्धी परिवारलाई मुक्त गर्नका लागि कदम उठाइएको छ ।
अर्का वरिष्ठ पत्रकार उमाकान्त लखेडा भन्छन्, ‘कांग्रेसको चाल, चरित्र र अनुहार परिवर्तन नगरेसम्म नरेन्द्र मोदी र अमित शाहसँग प्रतिस्पर्धा गर्न नसकिने कुरा राहुलले मजैले बुझेका छन् । त्यसैले उनले राजीनामा दिएका हुन् ।
कांग्रेसमा रहेका मठाधीश नेताका कारण राहुलले आफ्ना फैसला पार्टीमा लागू गर्न सकिरहेका थिएनन् । राजीनामा दिएर उनले कांग्रेसमा निर्मित शक्तिकेन्द्रहरूलाई तोड्ने कोशिश गरेका छन् ।
एजेन्सी